सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले सरकारलाई गतिछाडाको संज्ञा दिनुभएको छ । हत्यारा पुष्टि भएका रिगल भनिने योगराज ढकाललाई कैद सजाय मिनाह गरेको दृष्टान्त पेश गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालमा निर्वाचित सरकारलाई अपदस्थ गरेर सैनिकहरुले शासन चलाएको देशमा भन्दा पनि मनपरी गर्ने काम शासकहरुबाटै भएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । पूर्वन्यायाधीश केसीले संविधान, कानूनको पालना गराउने काम खड्किएको उल्लेख गर्दै त्यस्तो अवस्थाको अन्त्य गर्न कानुन व्यवसायीहरु लाग्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा शासन, सुशासन, संवैधानिक कानूनको पालना खड्किएको छ । यति बदमासी कहीँ पनि हुँदैन । यो कस्तो भएको छ भने एउटा डिक्टेटरले चुनिएको सरकारलाई फालेर सेनाले राज्य गरेको देशमा जुन मनपरी हुन्छ नि । अहिले त्यस्तै मनपरी भइरहेको छ । एक जना महिलाले न्याय पाउनका लागि सर्वोच्च अदालतमा आउनु पर्यो । आज भन्दा दुई दिन अघि सर्वोच्च अदालतको प्राङ्गणमा एक जना महिला लोग्ने मारिएको थियो । सरकारले हत्यारालाई सरकारले माफी दियो । यसले समाजनै अस्तव्यस्त हुन्छ भनेर छोडनु हुँदैन भनेर ती महिला सर्वोच्चमा गुहार्न आउनुभयो । त्यो किन हुनगयो ? सरकार गतिछाडा भयो ।’
कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता एवं नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठले सरकार र राजनीतिक पार्टीहरु आफैँले संविधान मिच्ने काम गरिरहेको आरोप लगाउनु भयो । उहाँले स्वतन्त्र र सक्षम न्यायालयका लागि कानून व्यवसायीहरुले खवरदारी गर्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो ।
वरिष्ठ अधिवक्ता श्रेष्ठले भन्नुभयो, ‘स्वतन्त्र न्यायपालिका र नेपाल बारको उद्देश्य अनुरुपको लोकतन्त्रको रक्षा, मानव अधिकारको रक्षा, संवैधानिक शासन, विधिको शासन कायम राख्नका लागि तपाई हामी लाग्नुपर्दछ । अरु संस्थाहरु राजनीतिक पार्टीले जन्म दिएका हुन्छन् । यो पनि कुनै राजनीतिक पार्टीले जन्म दिएका होलान् । तर हामी विधिको शासन मान्नेहरु, हामी कानून मान्नेहरुले कम्पनी ऐन अनुसार दर्ता भएको शुद्ध व्यवसायिक संस्था, यो अरु कम्पनी ऐन अनुसार दर्ता भएको मैले सुनेको छैन । कम्पनी ऐन अनुसार दर्ता भएर आएपछि, विधिको शासन मान्छु भनेपछि म त्यो राजनीतिक अनुसार लाग्छु भन्न पाइँदैन । यदी तपाईहरु लाग्नुभयो भने तपाईहरु अपराधी हुनेछ । कानुनको नजरमा अपराधी हुनेछ । कानून व्यवसायीहरुले स्वतन्त्र, सक्षम न्यायपालिकाको लागि लाग्नुहुन्छ भने त्यो बेलामा कुनैपनि कानून व्यवसायीहरुले बिरोध गर्न सक्ने छैनन् । अहिले पनि न्यायालय भित्र विकृति, विसंगति सकिएको छैन । अहिले पनि विधि मिच्ने काम आआफ्नो निकायहरुले गरिरहेका छन । राजनीतिक पार्टी होस्, सरकार होस, चाहे न्यायपालिकानै होस् । यिनीहरुले संविधान मिच्ने काम गरिराखेको छ । यो खवरदारी गर्ने काम कानून व्यवसायीहरुले गर्नुपर्छ ।’
श्रेष्ठले न्यायालयमा विधिको शासन, कानूनी राज्यको स्थापना गराउने काम कानून व्यवसायीहरुको रहेको पनि दोहो¥याउनु भयो ।