काठमाण्डौं । चिनियाँ पूर्वराष्ट्रपति चियाङ सेमिनको निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय सैन्य आयोगका पूर्वअध्यक्षसमेत रहनुभएका पूर्वराष्ट्रपति चियाङको बुधबार ९६ वर्षको उमेरमा निधन भएको चिनियाँ सरकारी सञ्चार संस्था सिन्ह्वाले जनाएको छ । थप विवरण भने सार्वजनिक भएको छैन ।
चियाङ सन् १९८९ को तियानमेन स्क्वायरमा भएको आन्दोलनपछि चीनको शक्तिमा उदाउनुभएकाे नेता हुनुहुन्छ । सन् १९२६ को १७ अगस्टमा जन्मिनुभएकाे उहाँ तियानमेन स्क्वायरमा भएको विद्यार्थी आन्दोलनपछि चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्ष बन्नुभएकाे थियाे । उहाँ भन्दा अघि चाओ चियाङ पार्टीका महासचिव हुनुहुन्थ्याे ।
सन् १९४६ मा सीपीसीको पार्टी सदस्यता लिनुभएका उहाँले संघाई विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गर्नुभएकाे थियाे । केही समय चीनका उद्योगहरूमा काम गर्नुभएकाे उहाँले सन् १९५५ मा सोभियत युनियनबाट इलेक्ट्रिक सम्बन्धी थप तालिम समेत लिनुभएकाे थियाे ।
इलेक्ट्रिक अनुसन्धातासमेत रहनुभएका उहाँ सन् १९८० मा आयात तथा निर्यात राज्यमन्त्री बन्नुभएकाे थियाे । त्यसको दुई वर्षपछि उपमन्त्री बन्नुभएका उहाँ उक्त कार्यकालको अन्तिमतिर मन्त्री नै बन्नुभएकाे थियाे । चीनले गरेको विकासमा उहाँको महत्वपूर्ण भूमिका रहेको मानिन्छ ।