काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनुभएकाे छ ।काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उहाँले सन्यासको घोषणा गर्नुभएकाे हाे । उहाँले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताउनुभएकाे हाे ।
पत्रकार सम्मेलनमा उहाँले घरेलु क्रिकेट पनि नखेल्ने बताउनुभयाे । सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गर्नभएकाे थियाे । यू–१५ टोलीबाट खेल्न थाल्नुभएकाे उहाँले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यु गर्नुभएकाे उहाँले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेल्नुभएकाे हाे ।
सन् २००६ को इन्टरकन्टिनेन्टल कपमा नामिवियाविरुद्ध डेब्यू गरेका ज्ञानेन्द्रले डेढ दशकभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभयाे । सन् २००९ मा पारस खड्काले कप्तानी पाएपछि १० वर्षसम्म ज्ञानेन्द्र उपकप्तानका रुपमा रहनुभयाे ।
२०१९ नोभेम्बरमा पारसले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले नेतृत्वको जिम्मेवारी पाउनुभएकाे थियाे । उहाँ २०७८ मंसिरसँग नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान रहनुभएकाे थियाे । तर ज्ञानेन्द्रले खेलाडीको केन्द्रीय सम्झौता र सुविधाको बारेमा आवाज उठाउने समूहको नेतृत्व गर्दा नेपाल क्रिकेट संघ क्यानबाट अनुशासनको कारबाहीस्वरुप कप्तान पद गुमाउनुभएकाे थियाे ।
कप्तानबाट हटाइएपछि ज्ञानेन्द्रले सन्दीपको कप्तानीमा ओमानमा टी–२० विश्वकप छनोट र युएईमा लिग टू खेल्नुभएकाे थियाे । तर, त्यसपछि भने उहाँ टिममा पर्न छाडनुभएकाे थियाे । पोहोर साउनमा नेपालले केन्यासँग खेल्ने टी–२० तथा एकदिवसीय क्रिकेटमा उहाँले टोलीमा पुनरागमन गर्नुभएकाे थियाे ।
ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी-२० आई क्रिकेट खेल्नुभएकाे छ । उहँले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाउनुभएकाे छ ।