परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले द्वन्द्वरत मुलुक इजरायलको भ्रमण नगर्न आग्रह गर्नुभएको छ । मंगलबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी गराउँदै उहाँले राजनीतिक तहमा आधिकारिक निर्णय भन्दा बाहेक व्यक्तिगत वा पार्टीगत भ्रमण नगर्न आग्रह गर्नुभएको हो । मन्त्री साउदले १० जना नेपालीहरुको ज्यान जानेगरी इजरायलमा भएका सो दुखद् घटनाको संवेदनशीलतालाई राजनीतिक फाइदा वा बेफाईदाको रुपमा प्रयोग गर्ने काम कुनैपनि तहबाट नहुने विश्वास समेत व्यक्त गर्नुभयो । इजरायलमा रहेका नेपालीहरुको समस्यालाई सम्बोधन गर्न सरकार पूर्ण रुपमा प्रतिवद्ध र गम्भिर भएर लागेको उल्लेख गर्दै उहाँले सो काममा संसदीय समिति र त्यसमा रहनुभएका सांसदहरुको पनि सकारात्मक सहयोगको अपेक्षा आफूले गरेको बताउनु भयो । मन्त्री साउदले सो घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरलाई समेत ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चार माध्याम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भुमिका निर्वाह गर्न सबैलाई आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरलाई समेत ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरु सञ्चार माध्याम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भुमिका निर्वाह गर्न सबैलाई आह्वान गर्ने । परराष्ट्र मन्त्रालयले इजरायल सरकार र नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गरी निधन भएका नेपालीहरुको शव नेपाल ल्याउन, जोखिम क्षेत्रमा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र नेपाल फर्कन चाहने विद्यार्थी र अन्य नेपालीहरुलाई नेपाल ल्याउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । नेपालको हवाई जहाज तयार अवस्थामा राख्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई अनुरोध गरिसकिएको छ । परराष्ट्र मन्त्रालय नेपाल सरकारका यी निर्णयहरु कार्यान्वयन गरी इजरायलमा रहेका नेपालीहरुको समस्यालाई सम्बोधन गर्न पूर्ण रुपमा प्रतिवद्ध र गम्भिर भएर लागेको छ । साथै यस सम्मानित समिति र माननीयज्यूहरुको सकारात्मक सहयोगको अपेक्षा गरेको छु । यसबीचमा विभिन्न तहमा राजनीतिक तहमा आधिकारिक निर्णयभन्दा बाहेक कुनै पनि दल, कुनै पनि सांसद वा कुनै पनि जिम्मेवार नागरिक समाज वा निकायहरुले यो परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राखेर व्यक्तिगत, पार्टीगत वा राजनीतिक रुपमा इजरायलको भ्रमण नगर्नका लागि पनि म आफ्नो तर्फबाट सुझाव दिन चाहन्छु । र, यो संवेदनशील घडीमा यसलाई राजनीतिक फाईदा वा बेफाईदाका रुपमा प्रयोग गर्ने उद्देश्यले कुनै पनि तहबाट त्यस्तो कदम उठाईने छैन भन्ने विश्वास पनि म व्यक्त गर्न चाहन्छु ।’
मन्त्री साउदले सो द्वन्द्वको चपेटामा परेका सबै नेपालीहरुको उद्धार गरिएको पनि समितिलाई जानकारी गराउनु भयो । उहाँले इजरायलमा रहेका नेपालीहरुको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरुलाई सुरक्षित तवरले रहने प्रवन्ध गर्न, उद्धार तथा सहयोग गर्नका लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरण भइरहेको र त्यस काममा नेपाली राजदुतावासहरुलाई सक्रिय रुपमा परिचालन गरिएको पनि बताउनु भयो ।
मन्त्री साउदले भन्नुभयो, ‘यी मध्ये १० जनाको हमासको आक्रमणबाट दुखद् निधन भएको छ । २ जना सकुशल रहेका छन् । ४ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भईरहेको छ । र, १ जनासँग अहिले पनि सम्पर्क स्थापित हुन नसकेको छैन । इजरायलको दक्षिण क्षेत्रको तुलनात्मक रुपमा जोखिमयुक्त क्षेत्रमा बंकर भित्र आश्रय लिइराखेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जनालाई हिजो इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । साथै उत्तरी क्षेत्रमा रहेका, फार्म हाउसमा रहेका केही नेपालीहरुलाई पनि सुरक्षित तवरले बंकरमा रहने व्यवस्था मिलाइएको छ । अन्य जोखिममा रहेका नेपालीहरुलाई पनि सुरक्षित स्थानमा राख्नका लागि निरन्तर पहल गरिएको छ । इजरायलमा रहेका नेपालीहरुको वास्तविक स्थितिको पहिचान गर्न, नेपालीहरुलाई सुरक्षित तवरले रहने प्रवन्ध गर्न, नेपालीहरुलाई सुरक्षित तवरले रहने प्रवन्ध गर्न, उद्धार तथा सहयोग गर्नका लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरण भइरहेको छ । साथै यी कार्यहरु गर्नका लागि नेपाली राजदुतावासहरुलाई सक्रिय रुपमा परिचालन गरिएको छ ।’
सो द्वन्द्वमा परी १० जना नेपालीको निधन भएको छ भने ४ जना घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको र १ जनासँग अहिले पनि सम्पर्क स्थापित हुन नसकेको सरकारले जनाएको छ । मन्त्री साउदका अनुसार इजरायलको दक्षिण क्षेत्रको तुलनात्मक रुपमा जोखिमयुक्त क्षेत्रमा बंकर भित्र आश्रय लिइराखेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जनालाई हिजो (सोमवार) इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।