काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा आइतबार पाँच दिने भारत भ्रमणमा जाने हुनुभएकाे छ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणा आइतबार नयाँ दिल्ली प्रस्थान गर्ने हुनुहुनेछ। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जान लाग्नुभएकाे हाे। भारत भ्रमणका क्रममा उहाँले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर परराष्ट्र मन्त्री राणा नयाँ दिल्ली आउन लागेको जानकारी दिएको छ। परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको जनाइएको छ।
‘छिमेकी पहिलो नीतिमा नेपाल भारतको प्राथमिकता साझेदार हो। आगामी भ्रमणले दुवै पक्षलाई द्विपक्षीय सहयोगमा भएको प्रगतिबारे छलफल र समीक्षा गर्ने अवसर प्रदान गर्ने छ र हाम्रो सम्बन्धलाई अझ अगाडि बढाउन मदत गर्ने छ,’ भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । परराष्ट्रमन्त्री राणा ६ गते स्वदेश फर्कनुहुनेछ ।