मुगु । गत असोजमा अविरल वर्षासँगै आएको बाढीपहिरो प्रभावित परिवारले राहत पाउँदा खुसी भएका छन् । बाढीपहिरोमा परी घर तथा खेतबारी गुमाएका छायाँनाथ रारा नगरपालिका ८ का पीडित परिवारले आज राहत पाउँदा खुसी भएका हुन् ।
टेवा नेपाल काठमाडौँको आर्थिक सहयोग र महिला अधिकार केन्द्र मुगुको समन्वयमा पीडित ३० परिवारलाई प्रतिघर ३० केजी चामल, दुई केजी दाल, एक पाकेट नून, डसना, फाइबर सिरक र तन्नालगायतका सामाग्री वितरण गरिएको महिला अधिकार केन्द्र मुगुका अध्यक्ष सुकमाया शाहीले जानकारी दिनुभयो ।
माघको जाडोमा खाद्यान्न र न्यानो ओढ्नेओछ्याउने कपडा पाएपछि विष्टवाडा गाउँका स्थानीय खुसी छन् । ‘गत असोज १८ देखि २३ सम्म परेको अविरल वर्षाका कारण गाउँमा कसैका घर भत्किए, कसैका चर्किए, खेतगरामा पाक्न लागेका अन्न सबै बगायो । त्यस बेलादेखि घर बाहिर नै बस्दै आएका छौँ’, स्थानीय लोकबहादुर विष्टले भन्नुभयो ।