काठमाडौं I आज राति आकाशमा अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो उल्का वर्षा देखिने भएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अनुसार यसलाई "भूतप उल्का वर्षा" भनिएको छ, जसको स्रोत बुटिज (भूतप) तारामण्डल हो।
पुस १३ गतेदेखि नै सक्रिय भूतप उल्का वर्षा आज राति अन्य दिनभन्दा धेरै देखिने अनुमान गरिएको छ। नासोले जारी गरेको विज्ञप्ति अनुसार उल्का वर्षा पुस २८ गतेसम्म सक्रिय रहनेछ। विशेषगरी आज राति खुला आकाश र कम प्रकाश प्रदूषण भएको स्थानबाट प्रतिघण्टा ५० देखि १२० वटा उल्का झरेको देख्न सकिनेछ।
उल्का वर्षा हेर्नका लागि कुनै उपकरणको आवश्यकता छैन। नासोले जनाए अनुसार पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा ठोक्किँदा ती कणहरूले आगोको झिल्काजस्तो देखिने गर्दछ।
उल्का वर्षालाई नेपालीहरूले "तारा खसेको" अथवा "झरेको" रूपमा अर्थ्याउँदै आएका छन्। यो दुर्लभ खगोलीय घटना हेर्न इच्छुकहरूका लागि आज राति उपयुक्त समय हुनेछ।