काठमाडौं I ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने भएको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभरका विभिन्न विद्यालयमा विद्यार्थीहरूलाई वित्तीय सचेतना प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागेको हो।
पौष १८ गतेदेखि आफ्नो स्थापनाको १९औँ वर्षमा प्रवेश गर्ने बैंकले प्रत्येक प्रदेशका शैक्षिक संस्थामा आधारभूत बैंकिङ सेवा, डिजिटल बैंकिङ्ग प्रणाली, तथा बैंकिङ्ग विवरण सुरक्षित राख्ने उपायहरू सम्बन्धी जानकारी प्रदान गर्नेछ।
यस कार्यक्रमले विद्यार्थीहरूलाई वित्तीय क्षेत्रको महत्व र बैंकिङ्ग अभ्यासको उपयोगिताबारे सचेत बनाउँदै जिम्मेवार नागरिकको रुपमा आर्थिक व्यवस्थापनमा योगदान दिन प्रेरित गर्ने लक्ष्य राखेको छ।
ग्लोबल आइएमई बैंक सामाजिक उत्तरदायित्व अन्तर्गत समाजलाई प्रत्यक्ष रूपमा लाभ पुर्याउने यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। बैंकले यसअघि पनि विभिन्न सामाजिक र शैक्षिक गतिविधिहरूमा आफ्नो सक्रिय सहभागिता जनाउँदै आएको छ।
नेपालको सबै ७७ जिल्लामा शाखा सञ्जाल रहेको पहिलो निजी क्षेत्रको वाणिज्य बैंकका रुपमा परिचित ग्लोबल आइएमई बैंकले हाल ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखारहित बैंकिङ्ग सेवा, तथा अन्य सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।
ग्लोबल आइएमई बैंकले सन् २०२४ को "बेष्ट बैंक अवार्ड" र "युरो मनी अवार्ड फर एक्सलेन्स" जित्न सफल भएको छ। साथै, बैंकले नेपालभित्र र बाहिरका नेपालीलाई रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ।