उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिनुभएको छ ।
मंगलवारको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री पौडेलले विधि निर्माणको प्रक्रिया सुस्त भयो भन्ने जनगुनासो आएको भन्दै समितिमा विचाराधिन रहेका विधेयकलाई छिटो टुंगो लगाइ सभा समक्ष पेश गर्न आग्रह गर्नुभयो । उहाँले सभाले पनि छिटो पारित गर्न आवश्यक काम गर्नुपर्नेमा सरकार रहेको बताउनु भयो । भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय आवश्यकता महशुस गरेर ल्याएको र धितोपत्रसँग सम्बन्धित लगायतका केही विधेयकहरु पनि चैत्र मसान्तसम्म समितिबाट सभामा पेश गर्नेगरी छल फल अघि बढाउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विधि निर्माणको काम स्लो भयो भन्ने जनस्तरबाट आवाज आइरहेको छ । विचाराधिन विधेयकलाई छिटो भन्दा छिटो टुंगोमा पुर्याउने र सभामा पेश गर्ने काम होस् । साथै सभाबाट पनि छिटो पारित होस् भन्ने सरकारको धारणा छ । राष्ट्रिय आवश्यकता महशुस गरिएको विधि निर्माणको कामलाई सरकारले आफ्नो ढंगले अघि बढाइरहेको छ । धितोपत्रसँग सम्बन्धित विधेयक पनि छिटो भन्दा छिटो समितिमा ल्याइयोस् । सकेसम्म चैत्र मसान्तसम्म आवश्यक निर्णय गरेर सभा समक्ष पेश होस् । समिति समक्ष विचाराधिन विधेयकहरु आवश्यकताको दृष्टिकोणले महत्वपूर्ण रहेकाले यथाशक्य चाँडो निस्कर्षमा पुग्न आग्रह गर्दछु ।’
उपप्रधानमन्त्री पौडेलले समिति समक्ष विचाराधिन विधेयकहरु आवश्यकताको दृष्टिकोणले महत्वपूर्ण रहेकाले यथाशक्य चाँडो निस्कर्षमा पुग्न आग्रह गर्नुभयो ।
—न्युज एजेन्सी नेपाल