उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रतिपक्षीहरुले अध्यादेशमाथि गरेको विरोध आफूले बुझ्न नसकेको बताउनुभएको छ ।
बिहीवारको राष्ट्रिय सभा बैठकमा निजीकरण ऐन संशोधन गर्न बनेको अध्यादेश, २०८१ माथि प्रतिपक्षीहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निजीकरण ऐन परिवर्तन गरेर सार्वजनिक प्रतिष्ठानमा रहेको सरकारी व्यवस्थापन ऐन बनाइदा दलाल पूँजीवाद नहुने भन्दै प्रतिपक्षीमाथि कडा प्रतिवाद गर्नुभयो । उहाँले तथ्य र तर्कमा रहेर विरोध गर्न प्रतिपक्षीहरुलाई आग्रह गर्नुभयो । उहाँले प्रतिपक्षीहरुले रचनात्मक ढंगले छलफल गर्नुको सट्टा विरोधका लागि विरोध गरेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘माननीयज्युहरुको अभिव्यक्ति ध्यानपूर्वक सुनेँ तर विधेयकको विरोध गर्नुपर्नाको कारण मैले बुझ्न सकिनँ । निजीकरण ऐन २०५० थियो, त्यसलाई संशोधन गरेर सार्वजनिक प्रतिष्ठानमा रहेको सरकारी व्यवस्थापन ऐन भनियो । यसोभन्दा कसरी त्यो दलाल पूँजीवाद भयो ? कसरी विदेशी पूँजी भयो ? कसरी यो समाजवादी विरोधी भयो ? कसरी निजीकरणको अझ प्रखर हिमायती भयो त ? के भन्न खोजेको माननीयज्युहरुले ? तर अध्यादेशमा थप के के गर्नुपर्ने थियो रचनात्मक ढंगले भन्नु उचित हुन्छ, विरोधका निम्ति विरोध नभइ विरोध तथ्य र तर्कमा आधारित हुनुपर्छ ।’
अर्थमन्त्री पौडेलले सरकारले सार्वजनिक, निजी र सहकारी गरी तीनखम्बे आर्थिक नीतिलाई समन्वयात्मक रुपले अगाडि बढाउने बताउनु भयो । उहाँले समाजवाद देशको गन्तव्य भएकाले सरकारले मन, वचन र कर्मले प्रतिवद्ध भएर लाग्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘तीन खण्डे नीति त छँदैछ । सार्वजनिक, निजी र सहकारी छन् । अर्थतन्त्रका तीन वटै आयामहरुलाई समन्वयात्मक रुपले अगाडि बढाउँछौँ । समाजवाद डेस्टिनेशन हो । हाम्रो अर्थतन्त्र समाजवाद उन्मुख भनेर सचेतनाको हिसाबले संविधानमा उल्लेख गरिएको छ । संविधानमा उल्लेखित निश्कर्षप्रति सरकार मन वचन र कर्मले प्रतिवद्ध छ भन्ने राख्न चाहन्छु ।’
प्रतिपक्षीहरुले सरकारनै भाडामा दिनुपर्ने अभिव्यक्ति दिएपछि अर्थमन्त्री पौडेलले राष्ट्रकै प्रतिष्ठामा आँच पुग्ने शब्द प्रयोग नगर्न आग्रह गर्नुभयो । उहाँले यस्ता अभिव्यक्तिले नागरिकको मनोविज्ञान बिगार्न भुमिका खेल्ने बताउनु भयो ।
–न्युज एजेन्सी नेपाल