काठमाडौं I नेपालकै चर्चित गहना ब्रान्ड क्लासिक डाइमन्ड ज्वेलर्सले आयोजना गरेको फेसन र मोडलिङ प्रतियोगिता ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजनको विजेता घोषणा गरिएको छ।
हिजो सम्पन्न ग्रान्ड फिनालेमा पूर्णिका सिजापति ‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ को विजेता घोषित भएकी छन्। फस्ट रनरअपको उपाधि स्मृति श्रेष्ठ र सेकेन्ड रनरअपको उपाधि उरुषा भण्डारीले जितेका छन्।
विजेताले १ लाख ५० हजार रुपैयाँ नगदसहित एक वर्षका लागि क्लासिक डाइमन्डको ब्रान्ड एम्बेसडर बन्ने अवसर प्राप्त गर्नेछिन्। फस्ट रनरअपले १ लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ पुरस्कार जितेका छन्। विजेताहरूले क्लासिक डाइमन्डका विभिन्न परियोजनामा काम गर्ने अवसर पनि पाउनेछन्।
स्मृति श्रेष्ठले प्रतियोगिताको उत्कृष्ट वाकको उपाधि जितिन् भने सुबुना थापाले मोस्ट पपुलर दुलहीको उपाधि जित्न सफल भइन्।
क्लासिक डाइमन्डको ग्रान्ड फेशन र ज्वेलरी शो आगामी ४ र ५ माघमा काठमाडौंमा आयोजना हुनेछ। यसै अवसरमा विजेताहरूलाई सम्मान र पुरस्कार प्रदान गरिनेछ।
देशभरका विभिन्न क्षेत्रबाट छानिएका २६ मोडललाई करिब एक महिने विशेष तालिम दिएपछि प्रतियोगितामा सहभागी गराइएको थियो। उत्कृष्ट पाँच प्रतिस्पर्धीलाई फाइनलका लागि छनोट गरी निर्णायक प्यानलले विजेता घोषणा गरेको हो।
निर्णायक प्यानलमा पूर्व मिस नेपाल माल्भिका सुब्बा र अस्मी श्रेष्ठ, अन्तर्राष्ट्रिय मोडल सविता कार्की, भारतीय सुपर मोडल दीप्ती गुजराल, र कोरियोग्राफर रेहान शाह रहेका थिए। प्रतियोगिताको कोरियोग्राफी पनि रेहान शाहले नै गरेका थिए।
क्लासिक डाइमन्डका अध्यक्ष बाबु राजा महर्जनले यो प्रतियोगिताले नेपाली फेसन र मोडलिङ क्षेत्रमा नयाँ प्रतिभा भित्र्याउन र उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। यसअघि यो प्रतियोगिताबाट साम्राज्ञी राज्यलक्ष्मी शाह, अञ्जली लाम, र मुना गौचनजस्ता प्रतिभाहरूले आफ्नो करियरलाई नयाँ उचाइमा पु¥याएका थिए।
आयोजकका अनुसार यो प्रतियोगिताले नेपाली मोडलिङ क्षेत्रलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्य राखेको छ।