निकासी पैठारी (नियमन) विधेयकले व्यापार प्रक्रियालाई सरल र पारदर्शी बनाउने सांसदहरुले विश्वास व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफल बोल्दै सांसदहरुले यस्तो विश्वास व्यक्त गरेका हुन् । उक्त विधेयक नेपाली वस्तु तथा सेवाको निर्यातलाई सहज बनाउनेगरी आउनुपर्नेमा उनीहरुको जोड छ । छलफलमा सहभागि हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले निकासी पैठारी विधेयकले व्यापार प्रक्रियालाई सरल, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन पुराना कानूनहर संशोधन गर्ने लक्ष्य राखेको बताउनु भयो । यद्धपी नेपालको निर्यातको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गर्नुभयो । उहाँले नीतिगत समस्याको कारण नेपालमा निर्यातभन्दा वस्तुको आयात धेरै हुने गरेको बताउनु भयो । संरचनागत सुधार गर्न नसकेकै कारण चीनले दिएको शुन्य भन्सारको फाइदा उठाउन नसकेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सरकारले प्रश्तुत गरेको यो विधेयकले व्यापार प्रक्रियालाई सरल, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन पुराना कानूनहरु संशोधन गर्ने लक्ष्य राखेको छ । तर हाम्रो निर्यात निराशाजनक अवस्थामा छ । नीतिगत कमजोरीका कारण आयात निर्यातभन्दा धेरै उच्च छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९÷८० मा व्यापार घाटा खर्बौं रुपैयाँले वृद्धि भएको छ । चीनले शुन्य भन्सार दिएपनि संरचनागत कमजोरीका कारण त्यस्तो फाइदा हामीले लिन सकेका छैनौं । यस विधेयकले संकेत नम्बर प्रणाली, इजाजत पत्र व्यवस्था र व्यापार सहजताको उपायहरु ल्याएको त छ । तर सरकारको अस्पष्ट नीति, निजी क्षेत्रको सिमित चासो, गुणस्तर सुधारमा चुनौति, लगानीको गलत प्राथमिकता र निकासी वातावरणजस्ता औद्योगिक अस्थिरतका कारण खोज्नुपर्छ भन्ने मेरो विचार हो ।’
सरकारको अस्पष्ट नीति, निजी क्षेत्रको सिमित चासो, गुणस्तर सुधारमा चुनौति जस्ता समस्याको समाधान दिनेगरी विधेयक ल्याउनुपर्नेमा उहाँको जोड छ । नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले निकासी पैठारी विधेयक ल्याउन धेरै ढिला भएको बताउनु भयो । उहाँले नेपालको विकास, समृद्धि र रोजगारीका लागि उक्त विधेयक महत्वपूर्ण सावित हुने बताउनु भयो । उहाँले विधेयकलाई नेपालको बजार र विश्वबजार तथा चाहनाको आधारमा ल्याइनुपर्ने बताउनु भयो । उहाँले कानून नबनेकै कारण नेपालले सधैं व्यापार घाटा सहनुपरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो विधेयक ल्याउन नेपालमा धेरै ढिलो भएको थियो । हामीले नेपालको विकास र समृद्धि तथा रोजगारीको लागि यो महत्वपूर्ण कदम थियो । तर हामी गम्भिर बन्न सकेनौं । मुलुकको अवस्था के हो ? मुलुकको बनावट के हो ? र मुलुकले विश्वबजारमा के दिनसक्छ भन्ने कुरामा हामी कहिले पनि गम्भिर बन्न सकेनौं । धेरै समयपछि यो आउँदैछ । यो अत्यन्तै राम्रो कुरा हो । हामी सधैं व्यापार घाटा सहिरहेका छौं । हामीले कुनैपनि उद्योगहरु चलायौं भने लामो समय चलाउन पाउँदैनौं । नेपालीको र विश्वको आवश्यकता र चाहाना के हो ? यी सबै कुराहरु हामीले गौण मानेका छौं ।’
नेकपा (एमाले)का सांसद दामोदर पौडेल बैरागीले विधेयकले वस्तुहरुलाई निश्चित भन्सारबाट मात्र आयात निर्यात गर्न पाउने कुरालाई व्यवस्थित गरेको भन्दै स्वागतयोग्य रहेको बताउनु भयो । उहाँले विधेयकले स्वदेशी श्रमसीप एवं कच्चा पदार्थमा आधारित वस्तु निर्यातलाई व्यवस्थित बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कसुर र सजायका सन्दर्भमा पनि विधेयकमा महत्वपूर्ण व्यवस्था गरेको भन्दै सरकारलाई धन्यावाद दिनुभयो ।
उहाँले भन्नुभयो, ‘विधेयकले केही वस्तुहरुलाई निश्चित भन्सारबाट मात्र आयात निर्यात गर्न पाउने कुरालाई व्यवस्थित गरेको छ । त्यसैगरी स्वदेशी श्रम सिप र कच्चा पदार्थमा आधारित वस्तुहरुलाई निर्यात गर्ने कुरामा ध्यान दिन खोजेको छ । निर्यात गृहको समेत व्यवस्था गर्ने सोच बनाएको छ । उत्पत्तिको प्रमाणपत्र पनि लिन दिनसक्ने व्यवस्था गरेको छ । निकासी प्रवद्र्धन कोषको बारेमा समेत विधेयकले सोचेको छ । व्यापार सहजिकरणका लागि पनि एउटा इकाइ बनाउन खोजेको छ । कसुर र सजायका सन्दर्भमा पनि महत्वपूर्ण व्यवस्था गरेको छ । विधेयक ल्याएकोमा सरकारलाई धन्यवाद भन्न चाहन्छु ।’
नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बरालीले विदेशमा वस्तु र सेवा निकासी गर्ने सवालमा अहिलेसम्मको नेपालको अवस्थाबारे चासो राख्नुभयो । उहाँले अहिले नियमित रुपमा श्रमशक्ति निकासी भइरहेको भन्दै विधेयकले त्यसलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो । उहाँले विधेयकलाई नेपालमा उत्पादित वस्तुको निकासीका र भन्सार व्यवस्थापन हुनेगरी विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘विदेशमा वस्तु र सेवा निकासी गर्ने सवालमा अहिलेसम्मको हाम्रो अवस्था के छ ? हाम्रा के वस्तु निकासी भएका छन् ? के कस्ता सेवा निकासी भएका छन् ? हाम्रो निकासी भनेको अहिले त दैनिक दुई हजार श्रमशक्ति निकासी भइरहेको छ । र यस किसिमको निकासीलाई गम्भिरसँग लिएर उनका शक्तिहरु र सृष्टिहरुको निकासी गर्नको लागि यस विधेयकले ध्यान दिनेछ भन्ने मलाई लागेको छ । धातुजन्य वस्तुमा भन्सारको कुरा महत्वपूर्ण हुन्छ । जसले गर्दाखेरि सुनचाँदीको भाउमा धेरै फरक पार्छ । त्यसलाई निकासी गर्ने क्रममा धातुबाट बनेका कलाकृतिहरु निकासी गर्न पाएमा बल्ल निकासी पैठारी विधेयकको औचित्य पुष्टि हुन्थ्यो ।’सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफल जारी छ । —न्युज एजेन्सी नेपाल