अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण लिएर तिर्दिन भन्ने प्रवृत्ति स्वीकार्य नहुने बताउनुभएको छ । काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैंकहरुको ऋण लिने, कालोसूचिमा पर्ने र तिर्दिन भन्ने प्रवृत्ति अपराधिक प्रवृत्ति भएको बताउनु भयो । उहाँले व्यवस्थामाथि प्रश्न उठाउने, व्यवस्था नै मन परेन भनेर व्यवस्थाका सानातिना कमजोरी, राजनीतिक प्रणालीका सानातिना कमजोरी खोतलेर त्यसलाई नै सबै पक्ष जस्तो बनाएर समाजमा एउटा व्यवस्था र नेतृत्वप्रति अनास्था पैदा गर्ने प्रवृत्तिसँग पनि आफूहरुको समर्थन नरहने बताउनु भयो । उहाँले धार्मिक, सामाजिक अतिवाद, मिलेर रहेको समाजलाई विखण्डन गर्ने प्रवृत्तिहरु, आफ्ना केही स्वार्थहरु पूरा गर्ने, आफ्ना महत्वकांक्षाहरु अगाडि ल्याउने प्रवृत्तिसँग पनि सरकारले सहमति नगर्ने बताउनु भयो । उहाँले काम नगर्ने र सजिलै धनी बन्न खोज्ने प्रवृत्तिहरुसँग सरकारले सहमति गर्न नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘चारैतिर व्यवस्था बदलियो तर जनताको अवस्था बदलिएन भन्ने प्रश्नहरु उठेका छन् । यसमा एकातिर व्यवस्थाप्रति नकारात्मक खालका अनास्था फैल्याउने आफ्ना सिमित स्वार्थहरु पूरा गर्ने प्रवृत्तिहरु छन्, हामीलाई थाहा छ । बैंकहरुको ऋण लिने, कालोसूचिमा पर्ने वा डिफल्टर हुने अनि पछि म तिर्दिन भन्ने प्रवृत्ति पनि छ, त्यो अपराधिक प्रवृत्ति हो, त्यस्ता प्रवृत्ति स्वीकार्य हुँदैनन् । त्यसैगरी व्यवस्थामाथि प्रश्न उठाउने, यो व्यवस्थै मन परेन भनेर व्यवस्थाका सानातिना कमजोरी, राजनीतिक प्रणालीका सानातिना कमजोरी खोतलेर त्यसलाई नै सबै पक्ष जस्तो बनाएर समाजमा एउटा व्यवस्था र नेतृत्वप्रति अनास्था पैदा गर्ने प्रवृत्तिसँग पनि हाम्रो सहमति छैन । धार्मिक, सामाजिक अतिवाद, मिलेर रहेको हाम्रो समाजलाई विखण्डन गर्ने प्रवृत्तिहरु, आफ्ना केही स्वार्थहरु पूरा गर्ने, आफ्ना महत्वकांक्षाहरु अगाडि ल्याउने प्रवृत्तिसँग पनि हाम्रो सहमति छैन । काम नगर्ने र सजिलै इजि मनी खोज्ने मान्छेहरुसँग पनि हाम्रो सहमति छैन ।’
मन्त्री पुनले राज्य प्रणालीमा भएको कमीको समीक्षा गर्न आफूहरु तयार रहेको बताउनु भयो । आफू अर्थमन्त्री रहँदासम्म जनतामा आशा जगाउने काम गर्ने बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल