काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले ‘राजतन्त्र–जिन्दावाद’ नभन्न आग्रह गर्नुभएको छ ।
राजतन्त्र पुनःस्थापना गर्ने भन्दै शनिवार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गर्नुभएका उहाँले पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गर्नुभएको हो । यसअघि उनका समर्थकहरुले राजा आऊ, देश बचाऊ लगातका नाराबाजी लगाउँदै प्रर्दशन गरिरहेका थिए ।
तर प्रसाईंले आफ्नो सम्बोधनको क्रममा राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गर्नुभयो । उहाँले राजतन्त्र चाहिने हो भने पूर्वराजा शाह र उनका परिवारका सदस्यहरु पनि आफ्नो आन्दोलनमा सहभागी हुनुपर्ने शर्त राख्नुभयो । प्रसाईंले आफू पूर्वराजा शाहलाई देखाएर सांसद हुने खालको मान्छे नभएको पनि पटकपटक बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘म तपाईहरुलाई राजतन्त्र जिन्दावाद नभन्न आग्रह गर्दछु । किनभने राजतन्त्र चाहिनका लागि त उहाँहरु पनि आन्दोलनमा आउनुपर्यो नि । हामीसँगै आउनुपर्यो । भिडनुपर्यो । हामीलाई साथ दिनुप¥यो । हामी राजा देखाएर रोटी साट्ने मान्छे होइन दुर्गा प्रसाईं । म राजा देखाएर सांसद बनेर जान्न ।’
माओवादी छाडेर एमाले प्रवेश गर्नुभएको प्रसाईंले हाल सो पार्टी पनि परित्याग गरी राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान सञ्चालन गर्ने भन्दै काठमाडौंमा आन्दोलनको कार्यक्रम शुरु गर्नुभएको हो । आफूले व्यवसाय गरिखाने, रोजगारीको अवसर सिर्जना गर्ने बाटो राज्यले बन्द गरेपछि आन्दोलन गर्न बाध्य हुनुपरेको उहाँको भनाई थियो ।