काठमाडौं । सांस्कृतिक तथा पौराणिक कथावस्तुमा तयार पारिएको नाटक ‘महासत्त्व’ कौशी थिएटरमा मञ्चन भइरहेको छ ।
गत पुस २५ गते बिहीबारदेखि मञ्चन भएको नाटकले सुरुवाती दिनदेखि नै दर्शकको राम्रो साथ पाएको छ ।
टेकुस्थित कौशी थिएटरमा वज्र कला कुञ्जले मञ्चन गरेको नाटक विशेषत नमोस्बुद्धको स्थापना र शाक्यमुनि बुद्धको जन्मको कथामा आधारित छ ।
तत्कालीन पाञ्चाल र हालको पनौती राज्यका राजा महारथ र रानी सत्यवतीका तीन राजकुमारमध्ये कान्छा राजकुमार थिए, महासत्त्व ।
पाञ्चाल राज्यमा हुन लागेको महापूजाको लागि अश्वेत फूल खोज्न सैनिकसहित राजकुमार महासत्त्व र उनका दुई दाइ महाप्रहालद र महादेव जंगल गएपछि भोकाएकी बघिनीसँग उनीहरुको भेट हुन्छ ।शिकार गर्न नसक्ने अवस्थामा आफ्ना ५ वटा डमरूसहित मृत्युसँग लडिरहेकी बघिनीलाई राजकुमार महासत्वले आफ्नै शरीर दान दिएर बचाउँछन् ।
यसरी महादान दिएका राजकुमारको त्यही मृत्यु हुन्छ र कालान्तरमा उनी शाक्यमुनी बुद्ध भएर जन्मिन्छन् । उनले शरीर दान दिएर मृत्युवरण गरेको क्षेत्र नमोस्बुद्धको नामले प्रसिद्ध हुन्छ। यसै विषयलाई उक्त नाटकमा विशेष रुपमा समेटिएको छ ।बौद्ध धर्मको नौ वटा ग्रन्थमध्ये सुवर्णप्रभासुत्रम शास्त्र अन्तर्गतको ब्याग्रिजातकबाट नाटक महासत्त्वको प्रसङ्ग निकालिएको हो।
नाटक ‘महासत्व’ हरेक दिन साँझ ५: १५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुन्छ ।