राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले ओडिसा घटनामा प्रभावित नेपाली विद्यार्थीको भौतिक एवं शैक्षिक सुरक्षाको प्रत्याभुति खोज्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ओडिसा राज्य ओडिसास्थित केआईआईटी विश्वविद्यालय भुवनेश्वरमा भएको घटनाको समाधानका लागि नेपालको परराष्ट्रय संयन्त्र ढिला परिचालन भएको समेत आरोप लगाउनुभएको छ । उहाँले सोमवार संसद खुल्ने बित्तिकै परराष्ट्र संयन्त्रलाई झकझक्याउन पाएको भए विद्यार्थीको बिच्चली हुने स्थिति सिर्जना हुन नपाउने उल्लेख गर्दै यस्ता विषयमा संसद अझै गम्भिर बन्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘ओडिसामा नेपाली विद्यार्थीमाथि दुव्र्यवहारको श्रृंखला नै चल्यो । पहिलो विज्ञप्ती त सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई विश्विद्यालय छोडेर देश फर्क भनेर समेत आयो । त्यसैले त्यहाँ समय समयको महत्व थियो । हामीले यो विषयमा हिजो संसद खुल्नासाथ परराष्ट्र संयन्त्रलाई झकझक्याउन पाएको भए सयौं विद्यार्थीहरुको बिच्चली हुने थिएन । पछि सच्चिदै गयो । विद्यार्थीहरुलाई फर्किन आह्वान समेत गरियो । तर कतिपय समयमा पलपलको महत्व हुँदो रहेछ । यस्तो बेलामा संसदले विषेश संवेदनशीलता देखाउनुपर्ने विषय रहन्छ । यस विषयमा कतै न कतै हामीले यसको निदान त खोज्नैपर्छ । तर समग्रमा परराष्ट्र संयन्त्र ढिलामात्र परिचालन भयो । अब त्यस घटनाको सत्यतथ्य छानविनको लागि भारत सरकारलाई कुटनीतिक च्यानेलमार्फत भन्नुपर्ने हुन्छ । विद्यार्थीहरुको भौतिक र शैक्षिक सुरक्षा अझै पनि महत्वपूर्ण छ । त्यसको प्रत्याभूति पनि हामीले खोज्नुपर्ने छ । र न्याय र क्षतिपूर्तिका कुराहरु पनि रहेका कारण हामीले निरन्तर कुटनीतिक पहल गर्नुपर्यो । र हामीले विज्ञप्ति जारी गर्दैमा जिम्मेवारी फत्ते भयो भन्ने छुट छैन ।’ उहाँले विज्ञप्ती जारी गर्दैमा सरोकारवाला निकायको जिम्मेवारी पूरा नहुने उल्लेख गर्दै न्याय र क्षतिपूर्तिका लागि कुटनीतिक पहल गर्न समेत सरकारसँग माग गर्नुभयो ।
—न्युज एजेन्सी नेपाल