नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका छन्। ताप्लेजुङको दुर्गम ओलाङचुङगोलामा जन्मिएका रूइतको जीवन संघर्ष, अध्ययन र मानवसेवाको अद्भुत कथा नेपालीहरूको लागि प्रेरणाको स्रोत हो।
वि.सं. २०११ भदौ १९ मा जन्मिएका रूइतको बाल्यकाल नै दुःख र अभावमा बित्यो। उनका बुबा सोनाम रूइतले ठुलो छोराको मृत्युपछि सानो सन्दुकलाई डाक्टर बनाउने सपना देखे। ७ वर्षको उमेरमै ओलाङचुङगोलाबाट १५ दिन पैदल हिँडेर दार्जिलिङ पुग्नु पर्ने अवस्थामा पनि उनले शिक्षाको मार्ग छोडेनन्। आमाको ममतामयी काख छाडेर बुबासँग दार्जिलिङ पुगेका रूइतले त्यहाँ अभाव, एक्लोपन र भारत-चीन युद्धको प्रभावमा पनि अध्ययन जारी राखे। पछि काठमाडौंको सिद्धार्थ वनस्थली र त्रिचन्द्र कलेजबाट शिक्षा पूरा गरे।
एमबिबिएस पढ्न भारतको लखनउमा छात्रवृत्ति पाएका रूइतले १९७६ मा डाक्टर बनेर नेपाल फर्किए। वीर अस्पतालमा काम गर्दै धनगढीको आँखा क्याम्पमा गएपछि उनको जीवनले मोड लियो। एउटै परिवारका पाँच बालकले शल्यक्रियापछि दृष्टि पाएको देखेर उनी आँखा चिकित्सामै केन्द्रित भए। अस्ट्रेलियन डाक्टर फ्रेड हलोजको सहयोगमा उनले मोतिबिन्दु उपचारको नयाँ प्रविधि “रुइतेक्टोमी” विकसित गरे, जसले गर्दा ५ मिनेटमै सस्तोमा उपचार सम्भव भयो।
रूइतको यो प्रविधि नेपालबाट विश्वभर फैलियो। अमेरिका, अस्ट्रेलिया, एसियालगायत ८० भन्दा बढी देशमा यसले लाखौंलाई अँध्यारोबाट मुक्त गर्यो। उनले तिलगङ्गा आँखा अस्पताललाई एसियाकै प्रमुख तालिम केन्द्र बनाए र विदेशी डाक्टरहरूलाई नेपाली प्रविधि सिकाउँदै आएका छन्। उनको कार्य नेसनल जिओग्राफिक, बिबिसीजस्ता माध्यमबाट प्रसारित भइसकेको छ।
डा. रूइतले म्यागासेसे पुरस्कार (२००६), अस्ट्रेलियन अर्डर (२०१२), र नेपाल सरकारको “राष्ट्रदीप” पदक (२०१२) जस्ता सम्मान हासिल गरेका छन्। उनको जीवनीमा आधारित वृत्तचित्र “आउट अफ डार्कनेस” ले पनि अन्तर्राष्ट्रिय ख्याति कमाएको छ।
“नेपालमा बसेर पनि विश्वस्तरमा केही गर्न सकिन्छ” भन्ने रूइतको जीवनले सिकाउँछ। उनको सादगी, लगन र सेवाभावले नेपाली युवालाई स्वदेशमै रही सफलता पाउने प्रेरणा दिन्छ। आज पनि ६७ वर्षीय रूइतले तिलगङ्गा आँखा अस्पतालमा दिनरात सेवा गर्दै लाखौंलाई ज्योति दिइरहेका छन्।
डा. सन्दुक रूइतको कथा संघर्ष, नवप्रविधि र मानवताको मिस्लित उदाहरण हो। उनले नेपाललाई विश्वनक्शामा उज्ज्वल बनाउनुको साथै “अँध्यारो हटाउने महानायक” को रूपमा इतिहास रचेका छन्।