काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मानवजातिको साझा खोजीमा सबैले इमान्दारीपूर्वक योगदान गर्नुपर्ने बताउनुभएकाे छ। धरानमा भइरहेका गतिविधिप्रति लक्षित गर्दै डा. भट्टराईले सतहमुनिको ज्वालामुखीलाई नदेखैं झैं गरेर बस्दा भोलि झन् ठुलो अनिष्ट हुनसक्ने बताउनुभएकाे हाे।
‘यो मानवजातिको साझा खोजीमा सबैले इमान्दारीपूर्वक योगदान गरौं।’ उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभयाे,‘वास्तविक र दिगो शान्ति, एकता, सद्भावनिम्ति सत्य र न्याय बेलैमा स्थापित गर्न सबैले उत्तिकै ध्यान दिनुपर्छ कि ? नत्र सतहमुनिको ज्वालामुखीलाई नदेखैं झैं गरेर बस्दा वा मुढेबल र कुतर्कको स्याउलाले छोप्न खोज्दा भोलि झन् ठुलो अनिष्ट हुनसक्छ।’
समाज र देशमा शान्ति, एकता, सद्भाव कायम हुनुपर्ने उहाँको भनाई छ।‘समाज र राज्यको उत्पत्ति भएदेखिको मानवजातिको यो साझा चाहना र खोजी हो। बुद्ध र अरस्तुदेखि मार्क्स र गान्धी हुँदै हाम्रो पुस्तासम्म यो क्रम जारी छ।’ नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका भट्टराईले भन्नुभयाे,‘विचार,दर्शन,धर्म,संस्कृति,राजनीतिका विभिन्न धार र हाँगाविगा यसैको खोजीमा आविष्कार/संश्लेषण भएका हुन्। यो खोजी संसारभर अझै पूर्ण भएको छैन।’
समाज र राज्यमा वास्तविक र दिगो शान्ति,एकता,सद्भावनिम्ति सत्य र न्यायको स्थापना र पक्षधरता अपरिहार्य हुने भट्टराईको धारणा छ। उहाँले असत्य र अन्यायको बीचमा उत्पीडित पक्ष जानेर वा नजानेर चूप बस्यो भने पनि सतहमा शान्ति, एकता, सद्भाव भएजस्तो देखिएपनि वास्तविक र दिगो नहुने धारणा राख्नुभयाे।