काठमाडौं । निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘साइन’ गर्नुभएकाे छ । लगालग हिट फिल्म दिइरहनुभएका दीपेन्द्र सोमबार निर्माता हरि मल्ल ठकुरीले निर्माण गर्ने नाम जुर्न बाँकी फिल्ममा अनुबन्धित हुनुभएकाे हाे । ‘घामपानी’ बाट निर्देशनमा डेब्यु गर्नुभएका दीपेन्द्र निर्देशीत ‘छ माया छपक्कै’ पछि ‘दुई नम्बरी’ सुपरहिट भइसकेको छ ।

पछिल्लो समय ‘डिमाण्डेड’ निर्देशकका रुपमा कहलिनुभएका उहाँले केही दिन अघि मात्रै दयाहाङ राई,मिरुना मगर र शिसिर वाङ्देललाई मुख्य भूमिकामा लिएर आफ्नो पाँचौ फिल्म ‘नाङ्गो गाउँ’ निर्देशन गर्ने घोषणा गर्नुभएकाे थियाे । हिमाल शर्माले निर्माण गर्ने सो फिल्मको सुटिङ चैत्र महिनामा हुदैछ । ‘नाङ्गो गाउँ’ पछि मात्रै यो फिल्म फ्लोरमा जाने जानकारी निर्देशक दीपेन्द्रले दिनुभएकाे छ ।
यसअघि ‘लाखे’ फिल्म निर्माण गरेको कम्पनी ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरको प्रस्तुतिमा निर्देशक लामाकै लेखन रहने फिल्मको कार्यकारी निर्मातामा हरि मल्ल ठकुृरी र निर्मातामा गणेश मल्ल ठकुरी (जिएम) हुनुहुन्छ । समीर घले सहनिर्माता रहेको फिल्मको कलाकार र प्राबिधिक चयन कार्य केही समयमै गरिने बताइएको छ । दीपेन्द्रको ‘नाङ्गो गाउँ’ का साथै यो छैठौं फिल्मको बितरण पनि आरआर फिल्मस्ले गर्ने सम्झौता भइसकेको छ ।