काठमाडौं I शहरी विकासमन्त्री सीता गुरुङले अन्तर मन्त्रालयबीच राम्रो समन्वय हुन नसक्दा विकास निर्माणका काममा कठिनाइ हुने गरेको बताउनुभएको छ ।
बुधवार सिंहदरबारमा बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री गुरुङले एउटा मन्त्रालयले अघि बढाएको कामलाई अर्को मन्त्रालयले आवश्यक चासो नदेखाउँदा पनि विकास निर्माणमा अवरोध सिर्जना भइरहेको गुनासो गर्नुभयो । उहाँले अन्तर मन्त्रालयबीच समन्वय गर्न र विकास निर्माणमा देखिएका समस्या समाधान गर्न नीतिगत छलफल नै जरुरी देखिएको उल्लेख गर्नुभयो । मन्त्री गुरुङले शहरी विकास मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा कुनै कन्जुस्याँई नगरी काम अघि बढीरहेको बताउनु भयो । उहाँले प्रतिनिधि सभाको पुरानो भवनलाई संसदीय संग्रहालयको रुपमा विकास गर्न पुरानै कला, संस्कृति समेटिने गरी पुनः निर्माण हुने बताउनु भयो । उहाँले त्यससम्बन्धी अहिले परामर्शको काम भइरहेको र एक महिना भित्रमा रिपोर्ट आइसकेपछि टेण्डर आह्वान र श्रोत सुनिश्चितता गरी मंसिरबाट काम अघि बढाइने बताउनु भयो । उहाँले विकास निर्माणमा केही गल्ती र कमजोरी रहेकाले त्यसलाई समाधान गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो मुख्य जिम्मेवारीको हिसावले प्रतिनिधि सभाको पुरानो भवन जहाँ हामी ग्यालरी बैठकको कुरा गरिरहेका छौँ, त्यसको सय वर्ष पुरानो इतिहासको कुरा, त्यसलाई जस्ताको त्यस्तै राख्ने कुरा यो विषयमा हामी सबै, प्राविधिक, महत्वको हिसावले पनि जस्ताको त्यस्तै राख्नेमा कोशिस गरिरहेका छौँ । त्यसमा अहिले परामर्शको काम भइरहेको छ । यसको रिपोर्ट यो एक महिनामा प्राप्त गर्नेगरी तयारी गरेको छ । त्यसपछि टेण्डर आह्वान र श्रोत सुनिश्चितता गरी अघि बढ्दा हामी मंसिरबाट यो कार्यलाई अघि बढाउन सक्छौँ । त्यसरी तयारी भएको छ । हिजो जुन डिजाइन भएको छ, राम्राराम्रा कलाहरु छन्, ति कलाकृतिहरुलाई सबैलाई जस्ताको त्यस्तै राख्ने भन्ने छ, तर कतिपय ठाउँमा हिजोको काठहरु कुहिएको छ, व्यवहारिक र प्राविधिक हिसावले नमिल्ने हो भने जस्ताको त्यस्तै रुपमा देखिने गरी काम गर्ने तयारी छ । समग्र विकास निर्माणका प्रक्रियामा केही गल्ती कमजोरी छन्, त्यसलाई सुधार गर्नुपर्नेछ । जहाँ हाम्रो यो खरिद प्रक्रियाको ऐनले कतिपय कुरा बाँधेको छ भने धेरै रकम लाग्ने आयोजना हुने, तर बजेट कम हुने, सुनिश्चितता नहुने जस्ता समस्या छन्, यो अर्थ मन्त्रालयसँग समन्वय गरेर ल्याउने हुनाले एकले अर्को मन्त्रालयबीचको समन्वयको कुरा र एउटा मन्त्रालयले कस्तो स्प्रिटमा अघि बढाएको छ, अर्को मन्त्रालयले नबुझ्ने हुनाले अलिकति अफ्ठ्यारो भएको छ । यसमा छिटै काम कसरी गर्ने भन्ने नीतिगत छलफल आवश्यक छ । हाम्रो मन्त्रालयको तर्फबाट गर्नुपर्ने काममा कन्जुस्याँइ गरेका छैनौँ । ऐतिहासिक, सांस्कृतिक पहिचानलाई प्राथमिकतामा राखेर काम गरेका छौँ ।’
समितिको बैठकमा ग्यालरी बैठक (पुरानो प्रतिनिधि सभा भवन) लाई संसदीय संग्रहालयको रुपमा विकास गर्न उक्त भवनलाई प्रवलीकरण प्रविधिद्वारा संरक्षण गर्ने सम्बन्धमा दिइएको निर्देशन कार्यान्वयनको प्रगतिका बारेमा छलफल भएको हो । समिति बैठकमा सांसदहरुले सरकारका योजनामा बजेटअनुसारको काम हुन नसकेको गुनासो समेत गरे । सांसदहरुले सरकारले संरचना बनाउने काममा ढिलाइ गर्नुनहुने बताए ।