जनकपुरधाम । धनुषाको बिगही खोलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेका धनुषाको बटेश्वर गाउँपालिका–१ धुमासन टोलका बिनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतो छन् ।
शनिबार दिउँसो साथीहरुसँगै बिगही खोलामा खेल्न गएका थिए । त्यहाँ ढुंगा–गिट्टी उत्खनन् गर्नका लागि खनिएको खाल्डोमा जमेको पानीमा उनीहरु नुहाउन खोजेका थिए । त्यहीबेला चिप्लिएर खाल्डोमा खसेका धिरज लामो समयसम्म बाहिर ननिस्केपछि सँगै गएका धिरजका साथीहरुले स्थानीयलाई बोलाएका थिए ।
स्थानीयले खाल्डोबाट बाहिर निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्याए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।
बटेश्वर गाउँपालिकाको कार्यालयले तीन वर्ष अघि सो खोलाबाट ढुंगा–गिट्टी उत्खनन गर्न ठेक्का लगाएको थियो । पछि ठेक्का रद्द गरिए पनि ठेकेदारले लुकीचोरी डोजर लगाएर उत्खनन जारी राखेका थिए । त्यही क्रममा खोलामा खनिएको ठूलो खाल्डोमा पानी जमेको छ । सोही खाल्डोमा परेर बटेश्वर गाउँपालिका–१ का धिरज कुमार महतोको ज्यान गएको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।