काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सय किलो सुन तस्करी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता बिना हुन नसक्ने भन्दै गृहमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने माग राखेको छ ।
बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रिय सभाका दलका नेता देवेन्द्र दाहालले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनेकुरा नभएको भन्दै अब गृहमन्त्री पनि अनुसन्धानको घेरामा आउनुपर्ने बताउनु भयो । उहाँले गृहमन्त्री, अर्थमन्त्रीलाई जानकारी नभइ यति ठूलो परिणामा सुन तस्करी हुनै नसक्ने बताउनु भयो । उहाँले सिंगो विमानस्थलको सुरक्षा व्यवस्था कस्तो छ ? त्यसको जवाफ कसले दिने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सुरक्षा व्यवस्थामा खटिएका कर्मचारी, भन्सार कर्मचारी र गृहमन्त्री एवं अर्थमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने बताउनु भयो । उहाँले सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने र समितिमा राष्ट्रिय सभा सदस्यहरु पनि रहनुपर्ने माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यही साउन ३ गते नेपालमा ठूलो परिणाममा त्रिभुवन विमानस्थलको माध्यमबाट सुन तस्करी भएको छ । त्यसपछि पनि हाम्रो बैठक बसेको थियो । सो बैठकमा सत्ता पक्षकै र हामीले केही विषय उठाएका थियौँ । यतिबेला नेपाल सुन तस्करीको ट्रान्जिक्ट प्वाइन्ट भएको छ । जब सरकार कमजोर हुन्छ, जब राज्य स्वयं यस कुरामा संलग्न हुन्छ यो भझै मौलाएर जान्छ, यतिबेला ठिक त्यस्तै भएको छ । एयरपोर्टमा सुन तस्करीको प्रकरणबारे बोल्छु । एउटा प्रक्रिया यहाँ शुरु गरिँदो रहेछ । शुरुमा ट्राइ गर्नका लागि वैशाखमा केही यात्रुहरुले दुई पोका ब्रेक सु ल्याएको रहेछ, यो उनीहरुले साइकलेको ब्रेक सुको रुपमा ल्याएको रहेछ, प्रवेश गराउन सफल भएका रहेछन्, कम्पनीको रुपमै दर्ता गर्ने भनेर २०८० को वैशाख १० गते रेडिरेट प्रा.लि.को नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालयबाट काम शुरु भएको देखिएको छ । आयातित वस्तु मिश्रित धातुका आइटम हङकङबाट ३३÷३४ पटक नेपालमा भित्रिएको देखिन्छ । जेठ १२ गते एक पटक संयुक्त अरब इमिरेट्सबाट ५२ केजीको पानी तान्ने मेसिन आयात भएको देखिन्छ, सामान्यतया कम्पनीबाट बनेको मेसिनको २० केजी तौल हुँदो रहेछ । ३२ केजी सुन तस्करी भएर आएको देखिन्छ । यी सबै कुरामा उच्च तहका नेतृत्व पनि सामेल भएको र उच्च तहका नेतृत्वलाई अनुसन्धानको दायरामा नल्याएको देखिन्छ । चाल्र्स शोभराजले नेपालको त्रिभुवन विमानस्थलबाट सिंगो हात्ती छिराइदिन्छु भन्थे, नेपालमा यही श्रावण ३ गते १५५ किलो ४६८ ग्राम सुन मात्र एक सय किलो भनिएको छ । यो हात्ती सरहको एक सय केजी सुन हवाइ मार्गबाट भित्रिँदा थाहा नपाउने सरकार, खासगरी गृहमन्त्रीमाथि गम्भीर प्रश्न उठेको छ । सिंगो विमानस्थलको सुरक्षा व्यवस्था कस्तो छ ? त्यसको जवाफ कसले दिने ? यो सरकारले दिनुपर्ने होइन, तर आफूले कुनै जवाफदेहीता लिनु नपर्ने जसरी गृहमन्त्री निक्कै फुर्तिका साथ विमानस्थल गइ कुनै टार कोटलाई छोडिँदैन भन्नुहुन्छ । सुरक्षा व्यवस्था तोड्दै बाहिर सुन पक्राउ भएपछि सुरक्षा व्यवस्था मैले व्यवस्थित गर्न सकिन भनेर यो सम्मानित सदनलाई सम्बोधन गर्दै राजीनामा दिनुपर्दथ्यो । यस्तो गम्भीर घटना गृहमन्त्रीको संलग्नता बिना हुनसक्ला र ? त्यसैले यो नैतिकताको विषय रहेन, ३ गते राजीनामा दिएको भए नैतिकताको विषय हुन्थ्यो, यो त अब सम्पूर्ण सुरक्षा र भन्सारमा रहेका कर्मचारी अनुसन्धानमा आउनुपर्छ । सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्छ । त्यसमा राष्ट्रिय सभाका मान्यहरु पनि हुनुपर्छ ।’
दलका नेता दाहालले सुन तस्करीमा उच्च तहको नेतृत्व सामेल भएपनि अनुसन्धानको दायरामा ल्याउन नसकेको बताउनु भयो ।