उपसभामुख इन्दिरा रानाले महिलालाई संविधानले दिएको ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार ललितपुरमा आयोजित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहााले यस्तो बताउनुभएको हो । उहाँले सरकार भनेको सम्पूर्ण जनताहरु भएकाले सबै मिलेर देश विकासमा लाग्नुपर्ने बताउनु भयो । उहाँले बिल्डिङ र टावर खोल्दैमा विकास भन्न नसक्ने बताउनु भयो । उहाँले महिला हिंसासम्बन्धी धेरै कानून बनेका भएपनि कार्यान्वयनको पाटो कमजोर रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘महिलालाई संविधानले दिएको धारा ३८ को ५ ले महिलाहरुले ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार छ, यो सुनिश्चित गर्नुपर्छ । सरकार भनेको सम्पूर्ण जनताहरु हुन् । जब हामी समावेशी विकासको कुरा गर्छौं, एउटा बिल्डिङ र टावर खोल्दैमा हामीले विकास भन्न मिल्दैन । आज हरेक सम्प्रदायका मानिसहरु र हरेक ठाउँका विकट ठाउँका जुम्ला कर्णालीदेखि लिएर सुदूरपश्चिमका ठाउँहरुमा तराईका ठाउँहरुमा विकास गर्नु हो भने कुनै समय लाग्दैन, तर दुर्गम छन्, केही विकास पुग्न सकेको छैन । दुःखका कथाहरु धेरै छन् । यौनिक लैङ्गिका मानिसहरु जो पीडित छन्, उनीहरुले नागरिक अधिकार पाएका छैनन् । महिला हिंसासम्बन्धी मात्रै धेरै कानून बनेका छन् तर एउटा पनि कार्यान्वयन भएको छैन, हामी चुप लागेर बस्नु हुँदैन, आवाज बुलन्द हुनुपर्छ । सरकारमात्रै होइन, हामी सबै एक भएर काम गर्नुपर्छ ।’ उपसभामुख रानाले महिलाका अधिकार आवाज सशक्त किसिमले उठाउनुपर्ने बताउनु भयो ।