उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट मुलुकमा विद्यमान समस्याहरुको सम्बोधन हुनेगरी ल्याइने बताउनुभएको छ ।
आईतवार सिंहदरबारमा राष्ट्रिय योजना आयोगको बजेटसम्बन्धी मन्त्रालयगत छलफलको प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । सरकारले उत्पादन तथा निजी क्षेत्रले उठाएका मागहरुलाई सम्बोधन गर्नको लागि अध्यादेशबाट कानून संशोधन गरेको उहाँको जिकिर छ । सहकारी क्षेत्रमा रहेका समस्याहरु समाधान गर्न कानूनी र संरचनात्मक प्रवन्ध गरिएको उल्लेख गर्दै उहाँले सहकारी क्षेत्रका समस्याको दिगो समाधान गर्नतर्फ सरकार अग्रसर रहेको बताउनु भयो । उहाँले मुलुकले अस्थिरताको अनिश्चित चक्रबाट गुज्रिसकेपछि राजनीतिक स्थायित्वको यात्रा तय गरेको समेत दाबी गर्नुभयो । उहाँले अस्थिरतावादी प्रवृत्तिहरु स्थिरताको विरुद्ध क्रियाकलाप गरिरहेको उल्लेद गर्दै सफल हुन नदिइने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मुलुकले अस्थिरताको अनिश्चित चक्रबाट गुज्रिसकेपछि राजनीतिक स्थायित्वको यात्रा तय गरेको छ । अहिले मुलुक अस्थिरतातर्फ होइन राजनीतिक स्थिरतातर्फ अगाडि बढेको छ । तर अस्थिरतावादी प्रवृत्तिहरु भने यो स्थिरताको खिलापमा विभिन्न गतिविधि गर्ने प्रयास गरिरहेका छन् । अस्थिरतावादी, प्रतिक्रियावादी, प्रतिगामी र अराजकतावादी प्रवृत्तिहरु सक्रिय छ । यदाकदा त्यसमा लोकप्रियतावादी पनि त्यसमा मिसिन पुग्छ । यो खालको प्रवृत्ति चाँही मुलुकमा अस्थिरता सिर्जना गर्ने कोशिस गरिरहेको छ । तर के विश्वास दिलाउन चाहान्छु भने अस्थिरता निम्त्याउन गरि कोसिशहरु नाकाम र निरर्थक हुनेछन् ।’
उहाँले अर्थतन्त्रका सम्पूर्ण परिसूचकहरु सकारात्मक दिशातर्फ अभिमुख रहेको बताउनु भयो । उहाँले जनता र सरकारबीचको सम्बन्धलाई अझै मजबुत बनाउँदै मुलुकमा विद्यमान समस्याहरुको सम्बोधन गर्नेगरी बजेट ल्याइने विश्वस समेत दिलाउनु भयो । —न्युज एजेन्सी नेपाल