झापा । झापाको बिर्तामोडमा डेंगु रोगको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । डेंगु संक्रमणबाट बिर्तामोड नगरपालिका-५ निवासी ४४ वर्षीय बिचन्द्र लावतीको मृत्यु भएको हो ।
लावतीको शुक्रबार साँझ उपचारको क्रममा मृत्यु भएको बताइएको छ। बिर्तामोडस्थित बीएण्डसी हस्पिटलको आइसियु भेन्टिलेटरमा राखेर लावतीको केही दिनदेखि उपचार भइरहेको थियो ।
साउनको पहिलो साता बिर्तामोड नगरपालिका–५ की ४४ वर्षीया मदिना खातुनको डेंगाे संक्रमणबाट मृत्यु भएको थियो । डेंगु पुष्टि भएको भोलिपल्ट उहाँको घरमै मृत्यु भएको परिवारले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले दुई दिनअघि निकालेको तथ्याङ्कमा जिल्लामा २३८ जना डेंगी संक्रमित पुगेको जनाएको छ । तर, बिर्तामोडकै अस्पतालहरूमा सयभन्दा बढी डेंगु संक्रमित उपचार गराइसकेका छन् ।