पोखरा । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशमा जीतबहादुर गुरुङ निर्वाचित भएका छन् । शनिबार भएको प्रदेशको प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा भीमबहादुर दुरा र चिज्याँ श्रेष्ठ, सचिवमा क्या. बुद्धिबहादुर थापामगर र नरबहादुर भुजेल निर्वाचित हुनुभएकाे छ । सहसचिवमा चनसुबा छन्त्याल, चेतबहादुर कुमाल र गोपाल भट्टचन चुनिनुभयाे । अधिवेशनले २३ कार्यसमिति निर्वाचित गरेको प्रचारप्रसार उपसमिति संयोजक राजबहादुर गुरुङले जानकारी दिनुभयाे । कोषाध्यक्ष निर्वाचित सदस्यहरुबाट बैठकले निर्णय गर्ने उहाँले सुनाउनुभयाे । भन्नुभयाे, उहाँका अनुसार केही सदस्यहरु पछि मनोनित गरिनेछ ।

अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका उपसभापती तथा उप प्रधानमन्त्री पूर्णबहादुर खड्काले गर्नुभएकाे थियाे । कार्यक्रममा उहाँले पार्टी संगठनलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयाे । उहाँले पार्टीका भातृ एवम् शुभेच्छुक संगठनहरू बलियो र क्रियाशील हुन जरुरी रहेको सुनाउनुभयाे । आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बलियो बनाउन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयाे ।

उहाँले फरक प्रसंगमा उपसभापति खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेर दिएको धोकाको बताउनुभयाे । उहाँले ४ मंसिर २०७९ को निर्वाचनका बेला मतदातालाई दिएको वचन पालना नगरेर प्रचण्डले धोका दिएको बताउनुभएकाे हाे । ‘यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ’, उहाँले भन्नुभयाे, ‘भन्नुपर्ने कुराहरु धेरै छन् । यसको जवाफ समयले पनि देला ।’

उपसभापति खड्काले संसद् विघटन गर्ने, संघीयता कार्यान्वयन नगर्ने, संविधानलाई गलत बाटोतर्फ लैजाने, लोकतन्त्रलाई अन्य दिशातर्फ मोड्न थाल्ने विरुद्ध संविधानको रक्षा, संघीयता कार्यान्वयन र मुलुकको आर्थिक उन्नति र प्रगतिका लागि कांग्रेस खरो भएर उत्रने बताउनुभयाे । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तीले विद्यमान संविधान संशोधन गरी राज्य पुनसंरचना गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयाे । धेरै जनताले बोल्ने भाषालाई सरकारी कामकाजको भाषाका रूपमा लागूगर्न संविधान संशोधन गर्नु पर्ने, आदिवासी जनजातिको अधिकारलााई नेपालको संविधानको मौलिक हकमा राख्नुपर्नेमा उहाँको जोड थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा गुरुङ मगरहरुको बाहुल्यता रहेकाले महासंघ बलियो हुँदा कांग्रेस सबल हुने बताउनुभयाे । आदिवासी जनजातिले प्रजातन्त्रको रक्षा पहिल्यैदेखि गरिरहेको उहाँको भनाइ थियो । ‘जनजातिहरुमा खुल्लापन छ । त्यो भनेकै प्रजातन्त्र हो,’ उहाँले भन्नुभयाे, ‘उनीहरुले आदिम कालदेखि प्रजातन्त्रको रक्षा गरिरहेका छन् । त्यसैले आदिवासी जनजाति र प्रजातन्त्रबिच पहिल्यैदेखिको सम्बन्ध छ ।’
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य अब्दुल सत्तार, दिलमान पाख्रिन र सरस्वती तिवारी, नेका गण्डकी सभापती शुक्रराज शर्मा, कास्कीका सभापती किशोरदत्त बराल, प्रदेशसभा सदस्यहरु बिमला गौचनल सरस्वती गुरुङ, जीत शेरचन, जीतप्रकाश आले, तमुसंघ नेपालका अध्यक्ष भुवनसिंह गुरुङ, महासंघ कास्की अध्यक्ष आशबहादुर गुरुङ लगायतले लोकतन्त्रवादी आदिवासी जनजाति संगठित भएर पार्टीको हितमा लाग्नुपर्ने बताउनुभएकाे थियाे ।