लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसवादमाथि संकटको बादल लागेको बताउनुभएको छ ।
मंगलवार जनकपुरधाममा आफू निकट नेता, कार्यकर्ताहरुसँग छलफल कार्यक्रम गर्दै वरिष्ठ नेता महतोले मधेसवादमाथि संकटको बादल लागेको बताउनुभएको हो । उहाँले मधेसवादमाथि संकट लागेको अवस्थामा जागरण अभियानको आवश्यकता रहेको बताउनु भयो । उहाँले मधेसले पाएको अधिकार खोस्ने तयारी भइरहेको भन्दै त्यसको प्रतिकारका लागि उत्पीडनमा परेका सबै जागरण अभियानमा लाग्नुपर्ने बताउनु भयो । उहाँले जागरण अभियान नचलाएमा आगामी निर्वाचनमा मधेसवादको नाममा कसैले नपत्याउने बताउनु भयो । उहाँले आगामी निर्वाचनमा मधेसवादी दलहरुले जित्ने सम्भावना नरहेको भन्दै अहिलेदेखि नै जनतालाई जागृत गराउनुपर्ने बताउनु भयो । वरिष्ठ नेता महतोले मधेसवादको रक्षाका लागि नयाँ शक्ति निर्माणको आवश्यकता रहेको बताउनु भयो ।
उहाँले मधेस प्रदेश सरकार काँग्रेस र कम्युनिस्टहरुले जस्तै गरी चलाउँदा मधेस केन्द्रित दलहरुप्रति वितृष्णा जागृत भएको बताउनु भयो । उहाँले मधेस सरकार भ्रष्टाचारमा लिप्त भएको कारण पनि जनतामा निराशा छाएको बताउनु भयो । महतोले मधेसी जनताले पाएको पहिचान तथा अधिकार रक्षाका लागि पुनः एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
—न्युज एजेन्सी नेपाल