उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सत्तारुढ गठबन्धन पाँच वर्षसम्म अगाडी बढ्ने बताउनुभएको छ ।
शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका उपसभापति समेत रहनुभएका मन्त्री खड्काले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म निरन्तर रुपमा अगाडी बढ्ने बताउनुभएको हो । उहाँले गठबन्धनमा दाँयाबाँया नहुने बताउनु भयो । उहाँले गठबन्धनका बीचमा केही समस्या भएमा छलफलका माध्यमबाट टुंगो लगाउने बताउनु भयो । उहाँले राष्ट्रिय सभाको अध्यक्षमा गठबन्धनले सर्वसम्मत रुपमा उम्मेदवारी दिने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘पहिलो कुरो, निर्वाचनको बेलामा जनतामा गएर हामीले जे–जे कुरा बोलेर गठबन्धनलाई स्थापित गरेका थियौँ । विश्वास दिलाएका थियौँ । त्यही जनमत लिएर हामी निर्वाचनमार्फत गठबन्धनको बहुमतको सरकार बनाइरहेका छौँ । त्यसैले यो गठबन्धन पाँच वर्षसम्म निरन्तर रुपमा अगाडी बढ्छ । यसमा केही दायाँबायाँ हुँदैन । केही समस्या छन् भने आपसमा बसौँ । छलफल गरेर टुंगो लगाउँछौँ । टुंगो लगाउँदै आएका छौँ । यसमा कहीँ यताउता, दायाँबायाँ होला भन्ने म कल्पनै गर्दिन । गठबन्धन दलहरु बस्छौँ । राष्ट्रिय सभा अध्यक्षको बारेमा सल्लाह गर्छौं । एउटा उम्मेदवार दिन्छौँ । आपसमा विमर्श गर्छौ । इस्युहरु केही छन् भने समाधान गर्छौं । र नयाँ विश्वासको उचाईसहित फेरी गठबन्धनबाट सर्वसम्मत राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार दिन्छौँ । र गठबन्धन निरन्तर रुपमा अगाडी बढ्छ ।’मन्त्री खड्काले गठबन्धन तलमाथि हुने कुराको आफुले कल्पना समेत नगरेको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल