निजी क्षेत्रले सरकारले चालु आर्थिक वर्षको पूँजिगत खर्च बढाउनुपर्नेमा जोड दिएका छन् । बिहीवारबाट काठमाडौंमा शुरु भएको आठौं घरजग्गा मेलाको उद्घाटन कार्यक्रममा बोल्दै निजी क्षेत्रले सरकारले चालु खर्चलाई बढाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको ५ महिना पूरा हुँदा पूँजिगत खर्चको अवस्था ज्यादै न्युन रहेको बताउनु भयो । उहाँले यस अवधिमा १५ प्रतिशत पनि पूँजिगत खर्च नभएको जिकिर गर्दै सरकारले अर्थतन्त्रलाई प्रभावकारी रुपमा चलायमान बनाउन, विकास निर्माणलाई तिब्रता दिँदै समग्र आर्थिक विकासका लागि पूँजिगत खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले बजेटको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षको ५ महिना पूरा हुँदा पूँजिगत खर्चको अवस्था ज्यादै न्युन छ । यस अवधिमा १५ प्रतिशत पनि पूँजिगत खर्च भएको छैन । अर्थतन्त्रलाई प्रभावकारी रुपमा चलायमान बनाउन, विकास निर्माणलाई तिब्रता दिँदै समग्र आर्थिक विकासका लागि पूँजिगत खर्च बढाउनुपर्ने छ । पूँजिगत खर्च बढ्दै जाँदा देशको अर्थतन्त्रको चक्रलाई नै चलायमान बनाउँछ । बजेटको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ ।’
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन्द्र मल्लले घर जग्गा कारोबारलाई चलायमान बनाउनसके अर्थतन्त्र सबल बन्ने बताउनु भयो । उहाँले घरजग्गा कारोबारलाई अझ व्यवस्थित गरी व्यवसायीहरुले खुला रुपमा काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘घर जग्गा कारोबारलाई चलायमान बनाउनसक्यो भने हाम्रो अर्थतन्त्र एकदमै सबल बन्छ । घरजग्गा कारोबारबाट मोटामोटी मुलुकलाई झन्डै अर्ब हाराहारीको राजश्व प्राप्त भइरहेको छ । यसलाई अलि व्यवस्थित गरेर, व्यवसायीहरुले खुला रुपमा काम गर्ने वातावरण बनाउनुपर्छ । कित्ताकाटलाई अलि व्यवस्थित गर्न पनि आग्रह गर्छु ।’
उहाँले नीति नियम निर्माणमा ढिलासुस्ती हुँदा कामहरु समयमै पाउन र पूरुा हुन नसकेको बताउनु भयो । पुस १२ देखि १५ गतेसम्म मेला सञ्चालन हुनेछ । मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ भने मेलामा फर्निचर, विद्युतीय सामग्री, सिमेन्ट, सजावटका सामान, स्टिल, फर्निचर, सिसा, काठ, ढुंगा लगायत निर्माण सामग्री प्रदर्शनमा राखिनेछ ।