काठमाडौं । नेपालगञ्जको अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा र कर्फ्यू पूर्ण रुपमा हटाएको छ ।
आज बिहान ४ बजेदेखि निषेधाज्ञा पूर्ण रुपमा हटाएको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘जिल्लाको शान्ति सुरक्षाको अवस्था हाल सामान्य रहेको हुँदा मिति २०८०/६/२३ गते बिहान ४ बजेदेखि पूर्ण रुपमा कर्फ्यु र निषेधाज्ञा हटाइएको छ ।’
साथै कुनै अमुक व्यक्तिले गरेको क्रियाकलापलाई लिएर सम्पूर्ण समुदायलाई नै आक्षेप लगाउने, सर्वसाधारणलाई भड्काउने वा धार्मिक, सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि काम नगर्न सबैमा प्रशासनले अपिल गरेको छ ।
सामाजिक सन्जालमा लेखेको विषयलाई हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला सुरक्षा समितिको बैठकले अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो । पछि कर्फ्यु खुकुलो पारिएको थियो ।
एक हप्ता अघि नेपालगञ्जमा दुई समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाएको थियो ।