काठमाडौं । वैदेशिक रोजगारका लागि टर्की पठाइदिने भन्दै करोड बढी रकम ठगी गरेको आरोपमा १ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ५ लेखनाथ टोलकी ३२ वर्षीया सुरुची भुजेल रहेको प्रहरीले जनाएको छ।
भुजेललाई कास्कीबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनृभयो।
सिर्जन कुमार राईसमेत ३० जना पीडितबाट वैदेशिक रोजगारका लागि टर्की पठाइदिने भन्दै १ करोड १५ लाख रकम लिइ ठगी गरेको आरोप भुजेलमाथि छ।
उनले टर्कीमा गएको भूकम्पपछि पुन निर्माणका लागि युएनले सहयोग गर्ने उद्देश्यले मासिक १४ सय अमेरिकी डलर बराबरको तलब दिने प्रलोभन देखाइ टर्की पठाइदिने भन्दै पीडितबाट सो रकम उठाएको पीडितहरूको आरोप छ।