पुस १० गते पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा ख्रीष्टमश महोत्सव आयोजना हुँदै छ । ‘ख्रीष्टमश महोत्सव — २०८०’को तयारीबारे महोत्सवका सचिव प्रमोद शर्मासँग गरिएको कुराकानी ।

ख्रीष्टमश महोत्सव २०८० हुन गइरहेको छ । यसबारे थोरै बताइदिनुहोस् न !
हामी कास्की जिल्ला भित्र रहेका विभिन्न मण्डलीहरू संयुक्त रूपमा आएर एकैपटक, एकैथलोमा १६० भन्दा बढी मण्डलीहरू संयुक्त रूपमा यो कार्यक्रम गर्दै छौँ । विशेष गरी हाम्रो कार्यक्रमmको उद्देश्य भनेको ख्रीष्टमशको शुभकामना साथै सन्देश, सारा जगतका मानिसका लागि पाप उठाएर लैजाने मुक्तिदाताको जन्म भएको छ है ! भन्ने सन्देश दिने उद्देश्यले यो कार्यक्रमको हामीले आयोजना गरेका हौँ ।
यो कार्यक्रममा मुख्य आकर्षण के के छन् ?
विशेष गरी यो कार्यक्रमको पहिलो आकर्षण भनेको ख्रीष्टमशको शुभकामना आदानप्रदान नै हो । ख्रीष्टमशको सन्देश साथसाथै यो प्रदेशका प्रमुख राजनीतिक व्यक्तित्वहरूले शुभकामना दिनुहुने छ । सँगै साँस्कृतिक कार्यक्रमहरू हुने छन् । चर्चित गायक कर्णदास, अमृत पुन, लिलि रसायली, जोएल खड्का, पिटर थापा, प्रेम तामाङ, अनुज कुलुङ, द गोस्पल र जमार ब्याण्डको बेजोड प्रस्तुती रहने छ । कार्यक्रममा खेल गतिविधि, मनोरञ्जनका कार्यक्रमहरू रहेका छन् । विभिन्न स्टलहरू पनि रहने छन् । जसले महोत्सवमा आउने व्यक्तिहरूले भरपुर रूपमा यो महोत्सव मनाउन सक्नु हुनेछ ।
यो महोत्सव गर्नैपर्ने बोध किन भयो ?
ख्रीष्टमश यस्तो चाड, उत्सव हो । संसार भरी नै ख्रीष्टमश मनाइन्छ । यहाँ पनि मनाइने गरेको छ । तर, वास्तवमै ख्रीष्टमश के हो ? भनेर आमजनमानसमा सन्देश प्रवाह नभएको कारणले यो महोत्सवमा ख्रीष्टमश के हो ? सन्देश प्रवाह गर्नका लागि हो । अर्को यहाँका चर्चहरूबीचको भातृत्व, एकताका लागि पनि महोत्सव आयोजना हुँदै छ । प्रभु येशू सारा जगतका मानिसका लागि आउनु भएको हो । उहाँ एक्लो मुक्तिदाता हुनुहुन्छ यो पृथ्वीमाथि, पृथ्वीमुनि भएका प्रत्येक प्राणीले उहाँलाई विश्वास गर्नुपर्छ भनेर बाइबलले दिएको सन्देशलाई प्रवाह गर्ने उद्देश्य पनि महोत्सवको हो ।
आयोजकको हिसाबले कसरी आयोजना हुँदै छ ? त्यसबारे पनि बताइदिनुहोस् न ! कुन कुन संस्थाको अग्रसरतमा कार्यक्रम आयोजना हुँदै छ ?
पहिलो त कास्कीभित्र रहेका सबै मण्डलीहरूको साझा कार्यक्रम हो यो । त्यसमा पनि क्षेत्रगत रूपमा हाम्रो विभिन्न छाता संगठनहरू छन् । ती छाता संगठनहरू समुदाय भन्छौँ हामी । हामीसँग पोखरेली समुदाय, त्यसैगरी पोखरा इसाई समाज, त्यसैगरी ग्रामीण इसाई समाज लगायत, लेखनाथ ख्रीष्टीयन मण्डली लगायत हामी स्वतन्त्र मण्डली पनि सबै एकसाथमा आएर एकथलोमा भएर कार्यक्रम गर्दै छौँ ।
कार्यक्रममा सहभागीता कस्तो रहला भन्ने अपेक्षा छ ?
आशा गछौँ यो सबैको कार्यक्रम भएकाले उल्लेखनीय उपस्थिति हुनेछ भन्ने अपेक्षा लिएका छौँ ।
यो कार्यक्रम पूरा भइसकेपछिको अपेक्षा ?
कार्यक्रमको उद्देश्य नै भातृ एकता र शान्तिको सन्देश फैलाउने हो । आन्तरिक बाह्य दुवै खाले अपेक्षा कार्यक्रमसँग जोडिएको छ । यद्यपि, हामीलाई थाहै छ ख्रीष्टमश त हामीले वर्षेनी मनाउँदै आएका छौँ । तर, यो वर्ष अलिकति बृहत अलिकति माथि उठेर हामीले यो महोत्सव आयोजना गर्नखोज्नुको कारण चाहिँ हामी भित्र र बाहिर येशू ख्रीष्टको सन्देश पुगोस् भन्ने छ । मान्छेहरूले येशू ख्रीष्टको बारे जुन किसिमको अवधारणा आफै डेभलप गर्नु भएको छ, वास्तवमा त्यो यस्तो रहेछ है ! ख्रीष्टीयन समुदायले बुझेको र यसलाई नबुझ्नु भएका दाजुभाई दिदीबहिनीहरू बीचको खाडल पनि पुरियोस् भनेर महोत्सव आयोजना गरेका हौँ । त्यो पूरा हुने अपेक्षा छ ।
आन्तरिक रूपमा इसाई समुदाय बीच पनि भातृ प्रेम बढोस् भन्ने उद्देश्य हामीले लिएका छौँ ।
अन्तिममा भन्नुपर्ने केही छ कि ?
यहाँहरू सम्पूर्णलाई महोत्सवमा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौँ । सम्पूर्ण दाजुभाई दिदीबहिनी कार्यक्रममा सहभागी भइदिनुहोस् ! येशू ख्रीष्ट सारा जगतको मालिक र हाम्रो पाप उठाएर लैजाने उद्दारकर्ताको जन्म भएको एउटा महत्वपूर्ण अवसरमा हामी सबै जना एकै ठाउँमा भेला भएर रमाइलो गरौँ । खुशी साटासाट गरौँ ।
स्वर्गदूतले रमाहट गरेको भनेर हामीले बाइबलमा त पढ्यौँ । अब हामी सबैले सँगै भएर रमाहट गर्ने बेला आएको छ । धुन बजाएर, भेटी चढाएर हामी सबैले परमेश्वरको महिमा गरौँ ।
