दैलेख । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाल राष्ट्रपति भए एमालेलाई आपत्ति नहुने बताउनुभएकाे छ । राष्ट्रपति चुनावलाई लिएर रस्साकस्सी चलिरहेका एमाले सचिव भट्टराईले नेपालको राष्ट्रपतिमा प्रस्ताव आए एमाले लचक हुने बताउनुभएकाे हाे।
‘कांग्रेसको राष्ट्रपति हुने कुराको कुनै पनि औचित्य छैन्, माधव नेपाल जी हुनुहुन्छ भने ठिक छ, उहाँले कांग्रेस माओवादी लगाएतका दलको समर्थन लिनुहुन्छ भने हामी सकारात्मक छौँ भनेर हाम्रो अध्यक्ष केपी ओलीले संकेत गर्नुभएको हो।’ मंगलबार प्रेस चौतारी नेपाल, दैलेखले आयोजना गरेको पत्रकार भेटघाटमा सचिव भट्टराईले भन्नुभयाे ‘नेपाल राष्ट्रपति भएपनि नेकपा एमालेको समर्थनमा हुने हो, यसमा हामी लचक छौँ।’
एमालेले माओवादी केन्द्रबाट उद्धार खोजेको हो रु भन्ने प्रश्नमा भट्टराईले भन्नुभयाे ‘एमाले नेपालको राष्ट्रिय राजनीतिको मियो हो, हामीले माओवादीबाट उद्धार खोजेको छैनौँ।’
उहाँले एमालेको मियोमा नेपालका सबै कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउने बताउनुभयाे। नेपालका अरु कुनै पनि दलको मियोमा नेपालको कम्युनिष्टहरु एक ठाउँमा हुन नसक्ने सचिव भट्टराईको दाबी छ।