प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको खोजी गरेको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल अनुपस्थित भएको भन्दै खोजी गरेको हो । बैठकमा बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले प्रधानमन्त्री र मन्त्रीहरुलाई खोजी गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने भएपनि सरकार जवाफदेहि नभएको बताउनु भयो । उहाँले बालकुमारी घटनामा दोषी करार भएका मन्त्रीलाई राजीनामा गर्न अथवा बर्खास्त गर्न प्रधानमन्त्रीलाई के ले रोकेको छ भनि प्रश्न समेत गर्नुभयो । उहाँले सरकारमाथि उठेका विभिन्न प्रश्नहरुको सन्दर्भमा सरकार जवाफदेही हुनुपर्ने भएपनि सरकार हराएको भन्दै प्रधानमन्त्रीको खोजी गर्न उच्चस्तरिय समिति बनाउनुपर्ने हो कि संसद स्थगित गर्नुपर्ने हो भनेर पनि प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘आज प्रधानमन्त्री आउनुभएको हामीले जानकारी पाएनौँ । प्रधानमन्त्रीज्यु छोरीको नगरपालिकातिर कता हुनुहुन्छ भन्ने हामीले सञ्चार माध्यमबाट सुनेका छौँ । प्रधानमन्त्रीको खोजी गर्नुपर्यो । मन्त्रीहरुको खोजी गर्नुपर्यो । र यो सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्यो । सरकार संसदप्रति जवाफदेही भएन । बालकुमारी घटनामा दोषी करार भएका, सरकारी छानविन समितिले नै दोषी ठहर गरेका मन्त्रीलाई राजीनामा गर्न वा राजीनामा नगरे बर्खास्त गर्न प्रधानमन्त्रीलाई के ले रोकेको छ ? यो संसदमा आएर जवाफ दिन के ले रोकेको छ ? लघुवित्त, मिटरब्याज, सहकारी पीडितहरु राजधानीमा मेचीदेखि महाकालीबाट हिँडेर आउनुभएको छ । उहाँहरुमाथि विभिन्न ढंगको दमन भएको छ । यो खालको स्थिति छ । यो बारेमा सम्पूर्ण विषयमा सरकार जवाफदेही भएन । सरकार हरायो । प्रधानमन्त्री हराउनुभयो । प्रधानमन्त्रीको खोजी गर्नुपर्यो । प्रधानमन्त्री खोजी गर्नका निम्ति यो संसदले एउटा उच्चस्तरिय समिति बनाउनुपर्ने हो कि ? संसद स्थगित गर्नुपर्ने हो कि ? कतिदिन समय चाहिने हो ? म ध्यानाकर्षण गराउन चाहन्छु ।’उहाँले काठमाडौंस्थित सुन्धारामा स्वरोजगार मजदुरहरुलाई आक्रमण गरिएको भन्दै खेद प्रकट गर्नुभयो । उहाँले घाइतेहरुको उपचारको माग पनि गर्नुभयो ।
—न्युज एजेन्सी नेपाल