काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतविरुद्ध ‘युद्ध अपराध’ सम्बन्धी रिट निवेदन दरपिठ गर्ने आफ्नै प्रशासनको निर्णय खारेज गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजालासले शुक्रबार उक्त रिट निवेदन दरपिठ गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णय खारेज गरेको निवेदक लेनिन बिष्टले जानकारी दिनुभयो । योसँगै तत्कालीन विद्रोही नेता प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री भट्टराईविरूद्ध ‘युद्ध अपराध’ सम्बन्धी रिट दर्ताको बाटो खुलेको हो ।
‘बाल सेना प्रयोग गरेर युद्ध अपराध गरेको भन्ने हामीले दायर गर्न खोजेको रिट निवेदन दरपिठ गर्ने निर्णय खारेज भएको छ’ उहाँले , ‘अब आइतबारसम्ममा रिट निवेदन हाल्नेछौं ।’
बाल सेना प्रयोग गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले युद्ध अपराध गरेकाले तुरुन्तै प्रचण्डलाई प्रधानमन्त्री पदबाट मुक्त गर्नुपर्ने माग राख्दै सर्वोच्चमा रिट निवेदन दिइएको थियो ।