काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशल (टीआई)ले भ्रष्टाचार अवधारणा सूचांक सार्वजनिक गरेको छ। मंगलबार टीआईले सार्वजनिक गरेको सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचांकमा डेकमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ। यस्तै ,सोमलिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको छ। यसैगरी नेपालले ३४ अंक प्राप्त गरी भ्रष्टाचार हुने मुलुकको ११० औं स्थानमा छ।
अघिल्लो वर्ष नेपाल ३३ अंक प्राप्त गरी ११७औं स्थानमा परेको थियो। सूचांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ भने ५० अंक (स्कोर) प्राप्त भएमा बढि भ्रष्टाचार हुने मुलुकको रुपमा मानिने गरिएको छ। यस वर्षको औसत अंक ४३ रहेको र विश्वका दुई तिहाइ मुलुकमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा देखिएको उल्लेख छ।
सीपीआई २०२२ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अंक (२५ औं), मालदिभ्सले ४० अंक (८५ औं), भारतले ४० अंक (८५ औं),श्रीलङ्काले ३६ अंक (१०१ औं),नेपालले ३४ अंक (११० औं), पाकिस्तानले २७ अंक (१४० औं), बङ्गलादेशले २५ अंक (१४७ औं) र अफगानिस्तानले २४ अंक (१५० औं) प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४५ अंक (६५ औं) प्राप्त गरेको छ ।
भ्रष्टाचार विरुद्ध विश्वभरनै प्रभावकारी कार्य हुन नसकेको,भ्रष्ट्र सरकारले नागरिकको सुरक्षा गर्ने क्षमता नराख्ने र फलस्वरुप नागरिक वितृष्णा द्वन्द्वमा रुपान्तरण हुँदै गएको टीआईको विज्ञप्तिमा उल्लेख छ।
यस्तै एसिया प्रशान्त क्षेत्रमा भ्रष्टाचार विरोधी कदमलाई वेवास्ता गरेको पाइएको जनाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनले सरकारलाई भ्रष्टाचार विरोधी प्रतिवद्धतालाई प्राथमिकता दिन, सूचनाको हक कायम राख्न तथा निजी प्रभाव कम गर्दै भ्रष्टाचार र त्यसबाट उत्पन्न हुने द्वन्द्वबाट मुक्त हुन आग्रह गरेको छ ।
