काठमाडौं I कैलालीको चिसापानीमा जालपादेवी केवलकार निर्माणको शिलान्यास शनिबार परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गर्नुभयो। ३.१ किलोमिटर लामो यो केबलकार परियोजना आइएमई समूहको लगानीमा निर्माण हुनेछ।
परियोजनाले सुदूरपश्चिमको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा ठूलो योगदान दिने बताउँदै मन्त्री देउवाले परियोजनालाई समयमै सम्पन्न गर्न सबैमा सहयोगको अपिल गर्नुभयो। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र प्रदेश मुख्यमन्त्री कमलबहादुर शाहले पनि परियोजनाको महत्त्व र यसको सम्भावित फाइदामाथि प्रकाश पार्नुभयो।
जालपादेवी केबलकारमा ३४ गोन्डोला हुनेछन्। बटम स्टेसनमा होटल, क्यासिनो, र ब्याङ्क्वेट हल, र टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, र अन्य मनोरञ्जनात्मक पूर्वाधार निर्माण हुनेछन्।
पाँच अर्ब रुपैयाँको लागतमा निर्माण हुने यो परियोजनाले पर्यटन, रोजगारी, र राजस्व वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।