जाजरकोट । आँखा पाक्ने (कन्जन्टिभाइटिस एनिडो भाइरस) रोगको प्रकोप बढेपछि जाजरकोटका विद्यालय बन्द भएका छन्। आँखा पाक्ने रोगका कारण विद्यार्थी अनुपस्थित हुन थालेपछि बुधबारदेखि शुक्रबारसम्मका लागि विद्यालय बन्द गरिएको त्रिभुवन माध्यमिक विद्यालय खलंगाका प्रधानाध्यापक भक्तबहादुर मल्लले बताउनुभयाे।
उहाँले संक्रमण तीव्र गतिमा फैलिएको र संक्रमित बालबालिकाबाट अन्य विद्यार्थीमा पनि सर्ने खतरा देखिएपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको बताउनुभयाे। नगरपालिकासँग समन्वय गरेर विद्यालय बन्द गरिएको उहाँले बताउनुभयाे। आँखा चिलाउने, रातो हुने, सुन्निने र अन्तमा पाक्ने समस्या देखिने गरेको छ। भेरी नगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत १०–१५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको छ।
समुदायमासमेत आँखा पाक्ने रोगको प्रकोप फैलिन थालेको नेपाल रेडक्रस सोसाईटी आँखा उपचार केन्द्र जाजरकोटका इन्चार्ज प्रदीप जंग शाहले बताउनुभयाे। दैनिक ५०÷६० जना आँखा पाक्ने (कन्जन्टिभाइटिस एनिडो भाइरस) रोगका विरामी उपचारका लागि आउने गरेको उहाँले बताउनुभयाे। भिडभाडमा नजान, घरमै बस्न र आँखामा संक्रमण देखिए मनतातो पानीले सफा गर्न उहाँले आग्रह गर्नुभएकाे छ।