बुटवल । अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएकाे छ । शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराउनुभएकाे हाे । केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गर्नुभएकाे एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुनुहुन्छ ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एलिजाको जिम्मेवारी टुंगो नलागेको बताउनुभयाे । ‘उहाँ हाम्रो पार्टीमा आउन इन्ट्रेस्ट राखेपछि प्रवेश गराउने कुरा स्वभाविक हो’, अध्यक्ष श्रेष्ठले भन्नुभयाे, ‘पार्टीमा आएपछि के जिम्मेवारी दिने भन्ने बैठकले निर्णय गर्छ, अहिले नै भन्ने कुरा होइन ।’
धेरैले एलिजाको नागरिक उन्मुक्ति पार्टी प्रवेश स्वभाविक नभई योजनाबद्ध भनेर टिप्पणी गरेका छन् । एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बन्नुभएकाे बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गर्नुभएकाे छ । उहाँ बैंकर तथा व्यवसायी हुनुहुन्छ ।
नागरिक उन्मुक्ति सत्ता साझेदार दल भएपनि माघ २५ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा गठबन्धन बाहिर गएर छुट्टै उम्मेदवारी दिएको छ । यो उम्मेदवारीलाई रेशम चौधरी रिहाइका लागि दबावका रुपमा हेरिएको छ ।