काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ। मंगलबार भएको दोस्रो खेलमा चितवनले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गर्दै सानदार प्रदर्शन गरेको हो।
१६२ रनको लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा मात्र ७४ रनमा अलआउट भयो। चितवनका बलर सोहेल तनविर, रिजन ढकाल र लुक बेन्केन्सटेइनको घातक प्रदर्शनले पोखराको ब्याटिङलाई ध्वस्त बनायो।
तनविरले ३ ओभरमा १ मेडन राख्दै ६ रन मात्र खर्चेर ३ विकेट लिए। रिजनले पनि ३ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ३ विकेट लिएका थिए। लुकले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट हात पारे।
पोखराका लागि लोअर अर्डरका नारायण जोशीले २४ बलमा ३० रन बनाए, जसमा ३ चौका र २ छक्का सामेल थियो। तर, अन्य कुनै पनि ब्याटरले ठूलो योगदान दिन सकेनन्।
यसअघि, चितवनका लागि रवि बोपाराले अर्धशतक प्रहार गरेका थिए। उनले आक्रामक ५० रन जोड्दै टिमलाई बलियो लक्ष्य दिन सहयोग गरे। चितवनको यो जितले टोलीलाई शीर्ष स्थानमा पुग्न थप बल पुर्याएको छ।