राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र शक्तिमा बस्नेहरुबाट देश बर्बाद भएको बताउनुभएको छ ।
बुधवार नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको उद्योग धन्दा पनि बर्बादउन्मुख भएको जिकिर गर्नुभयो । उहँले देश उद्योग धन्दा गर्नेहबाट नभइ सत्ता र शक्ति केन्द्रमा बस्नेहरुबाट बर्बाद भइरहेको बताउनु भयो । उहाँले वर्ष दिनमा चार पटकसम्म सत्ता परिवर्तन हुने र कुन मन्त्री आएर कस्तो नीति बनाउँछ भन्ने भयमा व्यवसायीहरु रहनुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले देशले संघीयता पाल्न नसक्ने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले साँच्चै भन्ने हो भने देशको उद्योग धन्दा असाध्यै बर्बाद भएको छ । यो बर्बाद सत्ता र शक्तिमा बस्नेहरुबाटै हो बर्बाद भएको । यो उद्योग धन्दा गर्ने, बन्द व्यापार गर्ने उनीहरुको कारणले होइन । एक वर्षमा तीन चार चोटी सरकार बदलिन्छ, कुन सरकार आएर के नीति लिने हो ? के गर्ने हो भन्ने उद्योग व्यापारीहरुलाई डर त्रास हुन्छ । अहिले पनि सबैभन्दा लगानी भनेको साधारण खर्च । आठ वटा राष्ट्रपनि पाल्नुपर्ने नेपाली जनताले । ८८४ जना नेपाली सांसदहरु पाल्नुपर्ने त्यो सकिन्छ । यहाँका उद्योग धन्दा,कलकारखाना सखाप पार्नुपर्ने, राष्ट्रलाई सम्पूर्ण रुपमा आयातमुखी बनाउने भनेपछि यो सबै बिग्रिएको उद्योगपति व्यापारी भन्दा हामी सत्ता र शक्तिमा बस्नेहरुका कारण हो ।’अध्यक्ष केसीले विकृतिको केन्द्रबिन्दु सिंहदरबार रहेको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल