पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य खगराज अधिकारीले नेपालका कम्युष्टिहरुलाई एक गराउने प्रयास सफल हुन नसकेको बताउनुभएकाे छ । एमाले पोखरा महानगर कमिटीद्धारा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै अधिकारीले नेपालको एक मात्रै कम्युनिष्ट पार्टी नेकपा (एमाले) रहेको दाबी गर्नुभयाे ।
‘देशमा एमाले बाहेक अर्को कम्युनिष्ट पार्टी रहेन । रोहित हुनुहुन्छ । अरु सबैजना कांग्रेसको सती गए’,उहाँले भन्नुभयाे ।
ज्येष्ठ कम्युनिष्टहरु योद्धाहरुले देखाएको बाटोमा हिडिरहेको बताउँदै उहाँले नेपाली कम्युनिष्ट आन्दोलनलाई अहिलेको अवस्थामा ल्याउन भुमिका खेल्ने सबै ज्येष्ठ नागरिकहरु प्रति नमन व्यक्त गर्नुभयाे ।
उहाँले आफुहरुले कहिल्यै पनि जानी जानी गल्ती नगरेको र नगर्ने बाचा गर्दै भन्नुभयाे, ‘हामी हाम्रै बाटोमा हिडिरहेका छौं, जानेसम्म गल्ती गरेका छैनौं र गर्दैनौं पनी ।’कम्युनिष्टको साइन बोर्ड झुण्डाउने जति भएपनि व्यवहारमा एउटा मात्रै एमाले रहेको
उहाँको दाबी थियो ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले) केन्द्रीय सदस्य तथा गण्डकी सह–इन्चार्ज मायानाथ अधिकारीले सुखानीको जंगलमा मृत्युवरण गरेका शहिदहरु प्रति सम्मान गर्नुभयाे । उहाँले सहिदको सपना पुरा गर्ने एक मात्रै कम्युनिष्ट पार्टी एमाले भएको दाबी गर्नुभयाे ।
नेकपा (एमाले) केन्दीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले नेकपा (एमाले) एक मात्र सच्चा कम्युनिष्ट पार्टी रहेको दाबी गर्नुभयाे ।
उहाँले नेकपा (एमाले) को नेतृत्वमा नेपाली कम्युनिष्ट आन्दोलन अगाडी बढ्ने बताउँदै ज्येष्ठ नागरिकको सम्मान र शहिदको सपना एमालेले मात्रै पुरा गर्ने बताउनुभयाे । कार्यक्रममा पोखरा महानगरपालिकाका ३३ वटै वडामा रहेका ज्येष्ठ कम्युनिष्टहरुलाई माला र सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो ।