पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपालको हरेक सवालमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि पनि सञ्चार जगतले उल्लेखनीय योगदान दिएको बताउनुभएकाे छ ।

नेपाल पत्रकार महासंघ कास्कीको १६ औं साधारणसभा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएकाे हाे । उहाँले प्रेसमाथि अंकुश लगाउने काम कहि कतैबाट पनि हुन हुँदैन भन्नेमा सरकार स्पष्ट रहेको स्पष्ट पार्नुभयाे । मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकार प्रेस स्वतन्त्रताका लागि गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयाे ।
राज्यका कानून कार्यान्वयनमा पत्रकार जति सक्रिय हुन्छन् त्यति नै राज्यका अंगहरु सचेत हुने उहाँले बताउनुभयाे ।
सरकारले गरेका जनहित विपरीतका गतिविधिमा सधैं खबरदारी गर्न र कलम चलाउन आग्रह गर्दै मुख्यमन्त्री पोखरेलले कोरोना कहरमा मिडियाले खेलेको भूमिका कहिल्यै भुल्न नसकिने बताउनुभयाे ।
पत्रकारले जनताको मन जितेर काम गर्नुपर्नेमा जोड दिंदै उनले गण्डकी प्रदेश सरकार सधैं पत्रकारको साथमा रहेको स्पष्ट पार्नुभयाे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरलले पोखराको पत्रकारिताले देशमा नै हलचल गर्ने बताउनुभयाे । राज्यले प्रेस स्वतन्त्रतालाई अझै पनि संकुचित बनाउने प्रयास गरिरहेको भन्दै यसका लागि महासंघले खबरदारी गर्नुका साथै पत्रकारको हक हित र सुरक्षामा विशेष ध्यान दिने स्पष्ट पार्नुभयाे ।
विकास र पत्रकारिता संगसंगै अघि बढ्ने भएकाले गुणात्मक पत्रकारिताका लागि राज्यको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयाे । श्रमजीवी पत्रकारले ऐन कानूनले तोकेको पारिश्रमिक नपाउने अवस्थामा अझै कायम रहेकाले यसका लागि महासंघले खबरदारी गरिरहेको बताउनुभयाे ।
पोखरा महानगरपालिकामा प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका पत्रकारको क्षमता अभिवृद्धिका लागि पत्रकार महासंघसंग सधै साथमा रहने प्रतिवद्धता जनाउनुभयाे ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुली, शान्तिका लागि नागरिक समाज सञ्जालका अध्यक्ष विना सिलवाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पूण्य पौडेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा लगायतले बोल्नुभएकाे थियाे ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले कोरोना कहरले सञ्चार क्षेत्रमा ठूलो असर पुर्याएको बताउनुभयाे । पत्रकार महासंघले कास्कीका पत्रकारहरुको अभिभावकीय भूमिका निर्वाह गर्दै महासंघको गरिमालाई उचो बनाउने काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयाे ।
आफ्नो कार्यकालमा पत्रकारको क्षमता अभिवृद्धि गर्नका लागि महासंघले ध्यान दिएको भन्दै अध्यक्ष भण्डारीले आगामी दिन पनि यस कार्यक्रमलाई महत्व दिने प्रतिवद्धता जनाउनुभयाे ।
महासंघका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद तिमल्सेनाले धन्यवाद ज्ञापन र कार्यक्रम सञ्चालन सचिव माधव प्रसाद बरालले गर्नुभएकाे थियाे ।