सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग जुध्न समेत तयार हुने बताउनुभएको छ ।
उहाँले प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग आफूहरु अल्झिन नचाहेको बताउनु भयो । सोमवार काठमाडौंमा आयोजित सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकासका लागि लगानी भित्र्याउन पनि निजी क्षेत्रलाई आह्वान गर्नुभयो । त्यसका लागि प्रदेश सरकारले आवश्यक वातावरण बनाउने उहाँको भनाई थियो । मुख्यमन्त्री शाहले सुदूरपश्चिम सम्भावना नै सम्भावनाको क्षेत्र भएकाले यसमा गरिएको लगानी खेर नजाने पनि दोहोर्याउनु भयो । उहाँले यस क्षेत्रको विकासका लागि नै लगानी सम्मेलन गर्न लागिएको पनि स्पष्ट पार्नुभयो । मुख्यमन्त्री शाहले देश भित्रै लगानीको वातावरण बनाउन सकेमात्रै वाह्य मुलुकबाट पनि लगानी भित्र्याउन सकिने भएकाले सुदूरपश्चिम प्रदेशको विकासमा पनि निजी क्षेत्रले जुटनुपर्ने तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सुदूरपश्चिम प्रदेश सरकार विगतमा के भयो, के भएन ? त्यतापट्टी नजाऔं । तर आजको सुदूरपश्चिम प्रदेश सरकार खुला रुपले खुला हृदयका साथ तपाईहरुसँगै अगाडि बढ्न चाहन्छ । मेरो आग्रह छ तपाईहरुलाई । यो परिवेशमा आउनुस् तपाईहरु । खुट्टा नकमाउनुस् । हामीले सन्देश दिन जरुरी छ कि सुदूरपश्चिमको लगानी सुरक्षित छ । सुदूरपश्चिमको लगानीबाट रिटर्न आउँछ । सुदूरपश्चिममा सम्भावना धेरै छन । सुदूरपश्चिमको सरकारले हामीलाई सपोर्ट गर्छ भन्ने सन्देश दिन जरुरी छ । आज बैंकिङ सेक्टरका कुराहरु आए । अरु कुराहरु पनि आए । बढि नकारात्मक कुराहरु हुन थाले भन्ने कुराहरु पनि आए । हामी त्यसलाई चिरेर अगाडि बढ्न चाहन्छौं । त्यो मानेमा तपाईहरुको साथ र सहयोग हामीलाई चाहिएको छ । र हामीले यो सबै कुरालाई बुझेर इन्भेष्टमेण्ट एण्ड डेभलभमेन्ट समिट दुई वटा कुरालाईसँगै जोडेर अघि बढ्न खोजेका छौं । लगानी र विकासलाई सँगसँगै लिएर हामी अगाडि बढ्न चाहन्छौं । हो विभिन्न किसिमका सम्मेलनहरु यो मुलुकमा भएका छन् लगानीका नाममा । प्रदेशमा पनि भएका होलान् । तर तपाईहरुको सहयोगमा हामी सुदूरपश्चिमको सम्मेलनलाई फरक ढंगले लिन चाहेका छौं । फरक ढंगले प्रश्तुत गर्न चाहेका छौं । र, ठोस कार्यक्रममा साथ हामी अगाडि बढ्न चाहेका छौं । तपाईहरुलाई लाग्छ सक्छ कि तपाईहरुका बीचमा अहिले धेरै विषयहरु उठान नभएका हुन सक्छन् । तर ती कुराहरु तपाईको बीचमा राखेर यो लगानी सम्मेलनमा हामी अगाडि बढ्नेछौँ । त्यसकारणले आदरणीय साथीहरु, सुदूरपश्चिम प्रदेश सम्भावना नै सम्भावनाको खानी हो भन्ने कुरा तपाईहरु आफैँले भनिराख्नुभएको छ । यसको सदुपयोग गर्ने कुरामा हामी अगाडि बढ्न जरुरी छ । यहाँको सम्भावनाको बारेमा म डिटेल रुपमा यहाँ प्रश्तुत भइन । अघि यहाँ उत्तराखण्ड र युपी पनि कुरा गर्नुभयो । तपाईहरुको बौद्धकतालाई, तपाईहरुको क्षमतालाई, तपाईहरुको अनुभवलाई सुदूरपश्चिममा टेकाउनुस् । त्यसको वातावरण बनाउन त्यसलाई स्वागत गर्न हामी तयार छौं । यो मेरो निवेदन छ । जबसम्म तपाई हामी उठन सकेनौं, जाग्न सकेनौं भने अरुलाई हामी जोड्न सक्दैनौं । अरुलाई जोडन जरुरी छ, तपाई हामी जाग्न जरुरी छ । त्यस मानेमा राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तपाईहरुसँग सम्पर्कमा भएका निजी क्षेत्रका हरेक सेक्टरका व्यक्तिहरुसँग तपाईहरु आफू पनि हातेमालो गर्दै सुदूरपश्चिम सरकारलाई पनि हातेमालो गराउने जिम्मा पनि तपाईहरुसँग छ । त्यस मानेमा म तपाईहरु सबैलाई निवेदन गर्न चाहन्छु । तपाई हामी सबै मिलेर अघि बढौं । म सरकारका तर्फबाट एउटा कुरा तपाईहरुलाई भन्न चाहन्छु–सुदूरपश्चिमको विकासको सन्दर्भमा संघीय सरकारसँग संवाद गरेर हुन्छ कि खोसेर हुन्छ । सुदूरपश्चिम प्रदेश सरकार अगाडि बढ्न तयार छ आजको मितिमा । हामीले हरेक फोरममा, हरेक बैठकमा हामीले आफ्ना कुराहरु जोडदार रुपमा राखेका छौं । त्यसकारणले तपाईहरुलाई लाग्न सक्छ कि कतै संघीय, ऐन, कानून, नियमले हामीलाई समस्या भएको छ भन्ने लाग्न सक्छ । मैले अघि नै भने–पोलिसीका कुराहरुमा पनि, ऐन, नियम, कानूनका कुराहरुमा पनि अब हामी अल्झिनेवाला छैनौं । हामी प्रष्ट भएर अगाडि बढ्न चाहन्छौं । म त्यो विश्वास तपाईहरुलाई दिलाउन चाहन्छु । र, आज हामी संघीय संरचनामा गइसकेपछि प्रदेश संरचनाहरुको निर्माण भईसकेपछि न्युनतम रुपमा हामीले हाम्रो विकासका लागि, समृद्धिका लागि गर्ने कार्यक्रमहरुमा कसैले पनि अवरोध गर्नुहुँदैन भन्ने मान्यता हामी छौं । कसैले पनि छेक्न पाउनु हुन्न । छेक्नु हुन्न भन्ने मान्यतामा छौं । त्यो मान्यतामा हामी संघीय सरकारसँग पनि जुध्न तयार छौं । त्यसकारणले मेरो निवेदन छ–तर यो सबैका लागि तपाईहरुको सहयोग चाहिन्छ । तपाईहरुको साथविना, तपाईहरुको सहयोगविना हामी अगाडि बढ्न सक्दैनौं ।’
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी सांसद डा. आरजु राणाले सुदूरपश्चिम क्षेत्रको उत्थानका लागि पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सो ठाउँमा भित्र्याउनका लागि बनाउने कानूनको बारेमा संघीय संसदलाई सुझाव दिन पनि सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
सांसद राणाले भन्नुभयो, ‘विदेशी पर्यटक यहाँ भित्र्याउने, विदेशमा बसेर पनि आफ्नै गाउँठाउँ जान खोज्ने दाजुभाई–दिदीबहिनीहरुलाई पनि त्यहाँ लैजानका लागि पनि हामीले के–के पोलिसीहरुमा चेन्ज हुनुपर्छ ? कानुन बनाउने प्रक्रियामा ल्याई दिनु हुन अनुरोध गर्न चाहन्छु । धेरै काम गर्न खोज्यौं भने हामीले सक्दैनौं । कम्युनिटीलाई फाईदा हुने खालको पर्यटनको विकास गर्नुपर्छ ।’
लगानी बोर्डका प्रमुख प्रशासकीय अधिकृत सुशील भट्टले सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न विकास तथा लगानी सम्मेलनमा संघीय सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । उहाँले सो लगानी सम्मेलनमा सहयोगका लागि आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल समेत गरेको जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत भट्टले भन्नुभयो, ‘मुलुकमा लगानी भित्र्याउनका लागि प्रदेश सरकारसँग पनि लगानी बोर्डले सहकार्य गर्छ । बोर्डले सुदूरपश्चिम प्रदेश सरकारको लगानी सम्मेलनमा सहयोग रहन्छ । यसमा सहकार्यका लागि हामी चाँडै निर्णय गर्छौं । मैले यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूसँग पनि हिजो मात्रै कुरा गरेको थिए ।’
प्रमुख प्रशासकीय अधिकृत भट्टले लगानी बोर्डले सबै प्रदेशको लगानी सम्भाव्यताको बारेमा विस्तृत रुपमा अध्ययन गरिरहेको र त्यसलाई निरन्तरता दिने बताउनु भयो ।