काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाण्डौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने बताउनुभएकाे छ ।
काठमाण्डौं ४ मा कांग्रेसका उम्मेदवार थापाले मतदानपछि संक्षिप्त कुरा गर्दै सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको बताउनुभयाे ।
त्यही भनेर आफू मतदातामाझ गएको भन्दै उहाँले भन्नुभयाे, ‘मत परिणामले यो क्षेत्रको सांसद दिने मात्र होइन, संसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर नेपाललाई कसले हाँक्ने भनेर निर्धारण गर्ने चरणको रुपमा लिएको छु ।’
मूलधारको राजनीतिक दलभित्र परिर्वतन कसरी सम्भव छ ? परिर्वतन भयो भने के अर्थ राख्छ ? भनेर काठमाण्डौं-४ का मतदातालाई हेक्का रहेको उहाँले बताउनुभयाे ।
कांग्रेसबाहेक अरु दलमा संसदीय दलको निर्वाचनको औपचारिकता समेत पूरा नहुने अवस्था रहेको भन्दै महामन्त्री थापाले भन्नुभयाे, यदि बदलाव आयो भने कांग्रेसभित्र आउने हो, जहाँ निर्वाचन हुन्छ र म सांसद भएपछि भोलिपल्टबाट संसदीय दलको निर्वाचनको तयारी गर्ने हो, संसदीय दलको निर्वाचन जित्ने हो र ड्राइभिङ सिटमा बसेर देश हाँक्ने हो भन्ने संकल्प हो ।’
काठमाण्डौं-४ का मतदाताले आफ्नो संकल्प पूरा गर्ने आधार दिने विश्वास रहेको उहाँले बताउनुभयाे ।