नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री हुने बाटोतिर गइरहेको जस्तो आभास भइरहेको बताउनुभएको छ ।

शुक्रवारबाट काठमाडौंमा शुरु भएको ‘दोस्रो राष्ट्रिय अर्थशात्री सम्मेलन–२०७९’ लाई सम्बोधन गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो । अन्तिम वक्ता रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल कार्यक्रममा नआएपछि महामन्त्री थापा सो सम्मेलनको अन्तिम वक्ता हुनुभएको थियो । प्रधानमन्त्री नआउनुभएको हुनाले आज अन्तिम वक्ता भएको, फागुन २५ गते पनि पार्टीका सभापति शेरबहादुर देउवा नआएपछि आफूले अन्तिम वक्ताको रुपमा एक कार्यक्रमलाई सम्बोधन गर्ने अवसर पाएकाले आफू अब यथार्थमा प्रधानमन्त्री हुन लागेको होकि भन्ने लागेको महामन्त्री थापाको भनाई थियो । उहाँले राजनीतिज्ञहरुलाई अर्थशास्त्रीय दृष्टिकोण बुझाउने काममा लाग्न पनि अर्थशास्त्रीहरुलाई आग्रह गर्नुभयो । महामन्त्री थापाले मुलुकको अर्थतन्त्रबारे राजनीतिज्ञहरुलाई बुझाउनुको साटो अर्थशास्त्रीहरुले गाली गर्ने गरेको गुनासो पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज प्रधानमन्त्रीजी अरु केही व्यवस्तताका कारण आउन पाउनुभएन । हिजो सभा गृहमा यस्तै कार्यक्रम थियो । मेरो पार्टी सभापति बस्ने कुर्सी त्यहाँनिर थियो । पार्टी सभापति आइपुग्नु भएन । त्यसपछि अन्तिम वक्ता म भएँ । आज प्रधानमन्त्री आइपुग्नु भएन । अन्तिम वक्ता म भएँ । सब्सिच्युट भइराख्या छु । त्यो रियल हुने बाटोतिर गएको हो कि भन्ने कुरा राख्न चाहन्छु ।’

महामन्त्री थापाले मुलुकमा देखिएको आर्थिक संकट समाधानका लागि अर्थशास्त्रीहरुले यथार्थमा आधारित भएर सुझाव दिनुपर्नेतर्फ पनि सचेत गराउनु भयो ।