ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगर क्षेत्रमा बनाउनुपर्ने सांस्कृतिक सम्पदाहरुको निर्माण दुई वर्ष भित्रमा पूर्ण हुने बताउनुभएको छ ।
शुक्रवार ललितपुर १९ को सद्भाव मेला उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महानगर क्षेत्र भित्रमा बनाउनुपर्ने मठ, मन्दिर, शिवालय, देवालयहरु अबको दुई वर्षभित्र बनाएर सक्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले महानगरपालिकालाई स्मार्ट सिटी बनाउने उद्देश्यअनुसार आफू अघि बढिरहेको बताउनु भयो । उहाँले महानगरको नीतिअन्तर्ग पोखरीहरु मास्न नदिने स्पष्ट पार्नुभयो । उहाँले ललितपुर महानगरले सम्पदाको क्षेत्रमा धेरै काम गरिसकेको र लगभग १४० वटा पार्टी पौवा बनाइसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘महानगरपालिकाले एउटा नीति लिएको छ, त्यो नीति भनेको के हो भने महानगरपालिकालाई स्मार्ट सिटी बनाउने भन्दै गर्दा स्मार्ट सिटीभित्र घटीमा पनि १० प्रतिशत खालि जग्गा हुनुपर्छ । त्यहाँ जो कोही पनि हिँड्न पाउनुपर्छ । मर्निङ, इभिनिङ वाक गर्न पाउनु पर्छ । हामीसँग ३ प्रतिशतमात्रै खुला जग्गाहरु छन् । हामीले एउटा नीति लिएका छौँ, हामीले कुनैपनि संघ, संस्था, व्यक्ति जोसुकै होस्, त्यस्तोहरुलाई सार्वजनिक जग्गा, ऐलानी जग्गा दिँदैनौँ । स्ट्रक्चर पनि बनाउन दिँदैनौँ । यहाँ रहेका धेरै पोखरी निर्माण गरेका छौँ । धेरै पोखरी संवद्र्धन गरेका छौँ । धेरै पार्क निर्माण गरेका छौँ । यही नीतिअन्तर्गत कुनैपनि पोखरी मास्न दिँदैनौँ । कुनैपनि सार्वजनिक जग्गा मास्न दिँदैनौँ । ललितपुर महानगरको क्षेत्रमा सम्पदाको क्षेत्रमा धेरै काम गरिसकेका छौँ । लगभग १४० वटा पार्टी पौवा बनाइसकेका छौँ । महानगर क्षेत्र भित्रमा बनाउनुपर्ने मठ, मन्दिर, शिवालय, देवालयहरु अबको दुई वर्षभित्र बनाएर सक्नेछौँ ।’ मेयर महर्जनले महानगरभित्रका कुनैपनि सार्वजनिक मास्न नदिने पनि स्पष्ट पार्नुभयो ।