काठमाडौं I नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै जारी गरेको अध्यादेशले निजी क्षेत्रलाई लगानी वृद्धिको वातावरण तयार गरेको बताएका छन्। म्याग्दीको बेनीमा मंगलबार सम्पन्न आठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति, प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापारिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै उनले सरकारको यो कदमले निजी क्षेत्रलाई उत्साहित पारेको उल्लेख गरे।
गत पुष अन्तिम हप्तामा मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति समक्ष सिफारिस गरि जारी भएको अध्यादेशले सुशासन प्रर्वद्धन, आर्थिक कार्यविधि, वित्तीय उत्तरदायित्व, निजीकरण, आर्थिक वातावरण सुधार, लगानी अभिवृद्धि र भूमिसम्बन्धी केही ऐन संशोधन गरेको थियो।
अध्यक्ष ढकालले कानुनमा गरिएको यस परिवर्तनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन प्रदान गरेको बताए। उनले भने, “सरकारले निजी क्षेत्रको सुझावलाई ग्रहण गरी छोटो समयमै कानुन परिवर्तन गरेर लगानी र सुरक्षाको वातावरण दिएको छ।”
ढकालका अनुसार प्रस्तावित कानुन निर्माणका क्रममा निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारबाट बाहिर राख्न महासंघ सफल भएको छ। कोरोना महामारी, रुस-युक्रेन युद्ध र नेपालका वर्तमान ऐन कानुनका कारण संकुचनमा परेको अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको सुझाव अनुसार सरकारले अध्यादेश ल्याएको उनले प्रष्ट्याए।
म्याग्दीका उद्योगी व्यवसायीहरुलाई कृषि, पर्यटन, जलस्रोत सम्बन्धी योजनामा लगानी भित्र्याउन महासंघ मार्फत सहजिकरण गरिने प्रतिवद्धता समेत उनले जनाए।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले महोत्सवको सफलताले आर्थिक गतिविधिलाई चलायमान बनाउन, सम्भावनाको पहिचान, स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रर्वद्धन, खेलकुद प्रतिभा पहिचान, कला र संस्कृतिको संरक्षणमा टेवा पुगेको बताए।
पुष २८ गतेदेखि शुरु भएको महोत्सवमा २३० वटा व्यापारिक स्टल, खेलकुद, लोकदोहोरी गीत, मौलिक गीत र नृत्य, कृषि मेला प्रदर्शनी, तथा कलाकारहरुको प्रस्तुति रहेका थिए। महोत्सवमा रु. १० करोडको कारोबार भएको र एक लाख दर्शकले अवलोकन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।