काठमाडौं I सुदूरपश्चिम प्रदेशको पहिलो केबलकार परियोजना जालपादेवी केवलकारको शिलान्यास समारोह भव्य रूपमा सम्पन्न भएको छ। प्रमुख अतिथि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केवलकार परियोजनाको सम्भावना र योगदानबारे आफ्नो मन्तव्य व्यक्त गरे।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही, सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहलगायत संघीय र प्रदेश सांसदहरूको उपस्थितिले कार्यक्रममा विशेष रौनक थप्यो।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले परियोजनाको महत्वबारे धारणा राख्दै भने, “पर्यटन पूर्वाधारले मात्र सुदूरपश्चिमलाई समृद्ध बनाउनेछ। जालपादेवी केवलकारले यस क्षेत्रको धार्मिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ उचाइ दिनेछ।”
उक्त परियोजनाले चिसापानी क्षेत्रलाई नयाँ पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। परियोजना अन्तर्गत केवलकारसँगै आधुनिक रिसोर्ट, जल पर्यटन, प्याराग्लाइडिङ, र्याफ्टिङ र अन्य साहसिक गतिविधिहरूको विकास गरिनेछ।
चन्द्रागिरि, मौलाकाली र बुटवलमा सफल परियोजनापछि आईएमई समूहले सातै प्रदेशमा यस्ता पर्यटन पूर्वाधार निर्माण गर्ने योजनासहित जालपादेवी केवलकार अघि बढाएको हो।
समारोहमा बोल्दै ढकालले भने, “यो केवलकारले सुदूरपश्चिमको प्रवेशद्वार चिसापानीलाई भारतलगायतका पर्यटकहरूको प्रमुख गन्तव्य बनाउनेछ। यसले रोजगार सिर्जना गर्दै स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउनेछ।”
कार्यक्रममा स्थानीय प्रतिनिधिहरूले परियोजनाको स्वागत गर्दै आर्थिक विकासका लागि केवलकार महत्त्वपूर्ण आधारशिला हुने विश्वास व्यक्त गरे।
जालपादेवी केवलकार परियोजनाका मुख्य बुँदाहरू
- केवलकारसँगै रिसोर्ट र मनोरञ्जन पार्क निर्माण।
- साहसिक पर्यटनको प्रवर्द्धन, र्याफ्टिङ र ट्रेकिङको विकास।
- भारतीय पर्यटकलाई लक्षित गर्दै सुदूरपश्चिमलाई प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने योजना।
- स्थानीय सहभागिता र रोजगार सिर्जनामा प्राथमिकता।
यो परियोजनाले सुदूरपश्चिमको आर्थिक, सांस्कृतिक र सामाजिक जीवनस्तरमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास गरिएको छ।