जोमसोम । नेपाल र भारतका गरी १ सय ५० जना बौद्ध भिक्षु र भिक्षुणी टोली नवौं इको साइकल यात्रा तय गर्दै काठमाडौंबाट मुस्ताङ आइपुगेका छन् । बढ्दो वातावरणीय प्रदूषणले मानव स्वास्थ्य तथा प्राकृतिक र जैविक विविधतामाथि प्रतिकूल असर पर्दै गइरहेको र त्यसको न्यूनिकरणका लागि साइकल यात्रा अपरिहार्य रहेको सन्देशसहित उनीहरू मुस्ताङ पुगेका हुन्।
काठमाडौं रामकोट डाँडा गाउँस्थित डुक अमिताभा माउन्टेन अर्थात् सेतो गुम्बामा बस्ने भिक्षु र भिक्षुणी र भारतको लदाकमा बस्ने भिक्षु र भिक्षुणीसहितको टोली इको साइकल यात्रा गर्दै मुस्ताङ आएका हुन् ।
दिगो वातवरणीय संरक्षणका लागि साइकल यात्रा आजको आवश्यकता रहेको र यसका लागि मानव स्वास्थ्य र प्रदूषण न्यूनिकरण गर्न दैनिक १र२ किलोमिटर यात्रा गर्नुपर्ने सन्देशसहित १० जना भिक्षु र १४० जना बौद्ध भिक्षुणी टोली साइकल यात्रा गर्दै मुस्ताङ आएको साइकल यात्रामा सहभागी भिक्षणी जिग्मे रिग्झिङले जानकारी दिनुभयाे ।
वातावरणीय दिगो विकासका लागि यात्रालाई इको साइकल यात्रा नाम दिइएको उहाँले बताउनुभयाे ।‘यो हाम्रो छोटो दुरीको नवौं साइकल यात्रा हो,यसअघि हामीले नेपाल र भारतका विभिन्न स्थानको महिनौं महिनासम्मको साइकल यात्रा गरिसकेका छौं,उहाँले भन्नुभयाे ,‘यसपटक डुक अमिताभा माउन्टेन -सेतो गुम्बाका १०० जना र भारतको लदाकका ५० जना भिक्षु–भिक्षुणी टोली साईकल यात्रा गर्दै मुस्ताङ आएका हौं, हामीले वातावरण संरक्षण र यहाँका विभिन्न गुम्बामा पुगेर दर्शन गरी विश्व शान्तिको कामना गरिहेका छौं ।’
वातावरणीय सन्देश बोकेर हिमाली जिल्ला मुस्ताङका आइपुगेका भिक्षु–भिक्षणी टोलीले २२ दिनदेखि काठमाडौंबाट मुस्ताङका लागि इको साइकल यात्रा सुरु गरेका हुन् । उनीहरूले खाने बस्ने ,पुजा सामाग्री र साइकल मर्मतका लागि आवश्यक बन्दोबस्तीका सामानसहित मुस्ताङ आइपुगेका हुन् ।
साइकल यात्राका लागि भोजनको व्यवस्था डुक अमिताभा माउन्टेन गुम्बाले गरेको छ भने साइकलहित अन्य व्यवस्था भिक्षु र भिक्षुणी आफैले गरेका छन् । साइकल यात्रामा १८ वर्षदेखि ४५ वर्ष उमेर समूहका भिक्षु र भिक्षुणी सहभागी छन् ।
गुम्बा रहेर पुजापाठको कर्ममा खटिदा भक्तजनले चढाएको अफरको पैसा भिक्षु र भिक्षुणीले पाउँछन् । सोही पैसा संकलन गरेर साइकल किनेर र विभिन्न स्थानको भ्रमणमा खर्च गर्ने गरिएको साइकल यात्री जिग्मे रिग्झिङले बताउनुभयाे । ‘हाम्रो मुख्य उद्देश्य भनेकै वातावरण संरक्षणका लागि साइकल यात्राद्वारा सन्देश हो, धार्मिक तिर्थ पनि हो ,आजकल धैरैले पैदल हिँड्न अल्छि मान्छन् ,उहाँले भन्नुभयाे,दैनिक केही माइल साइकल यात्रा गर्दा स्वास्थ्यलाई राम्रो हुन्छ,वातावरण संरक्षणमा पनि योगदान पुग्छ ।’
‘गुम्बा र बिहारका भिक्षु र भिक्षुणीहरु केवल गुम्बा र बिहारमा पुजापाठमा मात्र सीमित हुन्छन् भन्ने ठानिन्छ तर,त्यो होइन,गुम्बा भिक्षुरभिक्षुणीहरू सामाजिक उत्तरदायित्वमा पनि समर्पित हुन्छन् भन्ने सन्देश पनि हो,’उहाँले भन्नुभयाे ।
साइकल यात्रा गर्दै मुस्ताङ आइपुगेका भिक्षु र भिक्षुणीले बुधबार मुस्ताङको जोमसोमहुँदै कुछ्प तेरङ्गा गुम्बाको दर्शन गर्न पुगे । उनीहरूले मुस्ताङको ठिनी गुम्बा र मार्फाको गुम्बाको समेत दर्शन गरे । शुक्रबार उनीहरूले मुक्तिनाथ मन्दिर त्यस आसपासका गुम्बाहरूको साइकल यात्रा गर्दै दर्शन गर्ने कार्यक्रम छ ।
उपल्लो मुस्ताङको साईकल यात्रा गर्ने कार्यतालिका रहेपनि उनीहरूको टोलीमा ५० जना भारतीय टोली रहेकाले त्यहाँ प्रवेश अनुमति नलिएकाले टोली मुक्तिनाथबाटै फर्किने बताइएको छ । विदेशी नागरिकले ५ सय डलर रोयल्टी नेपाल सरकारलाई बुझाउनुपर्ने भएको र सो खर्च गर्न टोली असमर्थ रहेकाले मुक्तिनाथबाट साईकलको अन्तिम दुरी कायम गरिएको साईकल यात्रीहरुले बताउनुभयाे ।
डुक अमिताभा माउन्टेन गुम्बा (सेतो गुम्बा) अघि काठमान्डौंमा स्थापना भएको हो । विश्वमा भातृत्व,सद्भाव, शान्ति, प्रेम र करुणा फैल्याउन र हिमाली पर्यटनलाई प्रर्वद्धन गर्ने उद्देश्यसहित यस गुम्बाका भिक्षु र भिक्षुणीले विभिन्न समयमा विभिन्न ठाउँको साइकल यात्रा गर्दै आइरहेका छन् ।
source:-annapurnapost